काठमाण्डौ। नेपाल सरकारले कोरोना बीमाको करिब १३ अर्ब रुपैयाँ भुक्तानी गर्न सकेको छैन। 

नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलका अनुसार नेपाल सरकारले वाचा गरेको १२ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी दिन नसकेको हो। ‘विभिन्न इन्स्योरेन्स कम्पनीहरुमा कोरोना बीमाको दाबी भुक्तानीका लागि १० लाखभन्दा बढीको आवेदन परेको छ’, उनले भने, ‘तर, सरकारले पैसा नदिँदा भुक्तानी गर्न सकिएको छैन।’ 

कोरोनाकालमा तत्कालीन बीमा समितिले १ हजार रुपैयाँमा १ लाख रुपैयाँको र ५०० रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बीमा गर्न सकिने व्यवस्था ल्याएको थियो। परिवारकै बीमामा भने १ लाख रुपैयाँका लागि ६०० रुपैयाँ र ५० हजार रुपैयाँका लागि ३०० रुपैयाँ रकम तिर्नुपर्थ्यो। 

यो बीमा योजनाको अवधि भने १ वर्ष हुने व्यवस्था गरिएको थियो।