काठमाण्डौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन्। 

महासचिव गुटेरसले यो महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका घटनासँग नहुने पनि बताएका छन्। न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा मंगलबार कोरोनाभाइरस महामारीको सामाजिक आर्थिक प्रभावसम्बन्धी राष्ट्रसंघीय प्रतिवेदन सार्वजनिक कार्यक्रममा महासचिव गुटेरसले भने, 'यो नयाँ रोगले मानिसको जीवन र जीविकामा असर गर्दै समाजहरूको मुटुमै प्रहार गरेको छ।'

महामारीको प्रभाव कम गर्दै अन्त्य गर्न तत्काल सबैको सहकार्यसहितको स्वास्थ्य सहायता आवश्यक रहेको गुटेरसले बताए। गुटेरसले कम विकसित देशहरूलाई सहायता गर्न औद्योगिक राष्ट्रहरूलाई आग्रह गर्दै त्यसो नगरे 'डढेलो' जसरी फैलिएको यस रोगका डरलाग्दा नतिजा सामना गर्नुपर्नेु बताए।

राष्ट्रसंघको अनुमानअनुसार यस महामारीले विश्वभर झण्डै दुई करोड पचास लाख मानिसहरूले रोजगारी गुमाउनेछन्।

बीबीसीका अनुसार विश्वव्यापी प्रत्यक्ष वैदेशिक लगानीको लहरमा ४० प्रतिशतले कमी आउने उक्त प्रतिवेदनमा जनाइएको छ।

अमेरिकाले कडिकडाउका उपायहरू बढाइरहँदा चारमध्ये तीन अमेरिकीहरू कुनै न कुनै प्रकारका 'लकडाउन' सामना गरिरहेका वा गर्ने अवस्थामा पुगेका छन्। महामारीसँग जुझ्न भइरहेका थुप्रै प्रयासबीच विश्वभरका सेयर बजारहरूले यस वर्षको पहिलो तीन महिनामा तीन दशक यताकै ठूलो क्षति बेहोरेका छन्।

विश्वभर अहिले ८ लाख ५० हजारमा यस भाइरसको सङ्क्रमण पुष्टि भएकोमा ४१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। एक लाख ७७ हजार कोभिड १९ रोगबाट निको भएका छन्।

गत वर्षको अन्त्यमा भाइरसको प्रकोप सुरु भएको चीनमा भन्दा धेरै अमेरिकामा मृत्युको सङ्ख्या तीन हजार छ सयभन्दा बढी पुगेको छ।उच्च प्रभावितमध्येको स्पेनमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च ८४९ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै इटलीमा १२ हजार भन्दा बढीको मृत्यु भएको छ। ब्रिटेनमा एकजना १३ वर्षे किशोर सहित अहिलेसम्म एक हजार सात सय ८९ जनाले ज्यान गुमाएका छन्।