काठमाण्डौ । कुनै बेला बजारको ‘हटकेक’ मानिने एभरेष्ट बैंकको सेयर खरीदमा लगानीकर्ताहरु किन मरिहत्ते गरिरहेका छैनन् ? यो बैंकले लिलाममा राखेको अबितरित सेयर फेरि पनि पूर्ण बिक्री नभएपछि यही प्रश्न पेचिलो रुपमा उठेको छ । 

राम्रो मानिएको वाणिज्य बैंकको सेयरमा समेत लगानीकर्ता किन आकर्षित छैनन् ? यसको एउटै उत्तर हुनसक्छ: एभरेष्ट बैंकको बिग्रदो बित्तीय स्वास्थ्य र बिग्रदो छवि । नेपालमा लगानी गरेर यहाँका खातावालहरुको गोप्य सूचना भारतसम्म पुर्याउने गरेको संगीन आरोप खेप्दै आएको यो बैंकले केही समयअघि निश्कासन गरेको ३३.३३ प्रतिशत हकप्रद निश्कासन गरेको थियो । तर, यो बैंकलाई आफ्नै सेयरधनीले समेत पत्याइदिएनन् । फलस्वरुप २ लाख ५३ हजार सेयर बिक्री भएन । साधारणतर्फको २ लाख ५३ हजार सेयर बिक्री नभएपछि यो बैंकले लिलामी खुलाएको थियो । 

सोमबार बिहान लिलामीको क्रममा परेको बोलपत्र खोलिएको थियो । जसमध्ये बोलपत्र पेश गर्ने सबैलाई सेयर परेको छ । 

बिक्री प्रबन्धकको काम गर्दै आएको एनआइबिएल क्यापिटल मार्केट लिमीटेड स्रोतका अनुसार कतिपयले त एभरेष्ट बैंकको सेयर कौडीकै भाउमा उठाउने मौका समेत पाएका छन् । ‘बोलपत्र पेश गर्ने सबै लगानीकर्तालाई सेयर बाँडफाँड गरिएको छ । कतिपयले प्रति कित्ता २ सय रुपैयाँभन्दा कम दर पेश गरेका थिए, उनीहरुले पनि सेयर पाएका छन् ।‘ एनआइबिएल क्यापिटल मार्केटका एक कर्मचारीले भने–‘सबै आवेदकलाई सेयर दिंदा समेत ४० हजारको हाराहारी कित्ता अझै बिक्री भएन ।’ एभरेष्ट बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १२७२ रुपैयाँ रहेको छ ।  

एभरेष्ट बैंकले बिक्री नभएको ४० हजार कित्ता सेयरका लागि फेरि लिलामीको प्रक्रिया खुलाउनुपर्नेछ ।