काठमाण्डौ । क्यानडाको टोरन्टो प्रहरीले पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ठूलो सुन चोरीको अनुसन्धान गरिरहेको छ। यो एयरपोर्ट प्रायः ओन्टारियो प्रान्तबाट निकालिएको सुन ढुवानी गर्न प्रयोग गरिन्छ।

क्यानडाका अधिकारीहरुका अनुसार गत सोमबार १ करोड ५० लाख अमेरिकी डलर अर्थात् डेढ अर्ब रुपैयाँभन्दा बढीको सुन र बहुमूल्य वस्तुहरू चोरी भएको थियो। यो बहुमूल्य सुन राखिएको हवाई जहाजको कन्टेनर साँझ विमानस्थलमा पुगेपछि उक्त कन्टेनरलाई कार्लो होल्डिङ सुविधामा लगिएको थियो।

त्यहाँ सुन चोरी भएको प्रहरीको अनुमान छ। यो क्यानाडाको इतिहासमा सबैभन्दा ठूलो डकैती हुन सक्छ।

पिल क्षेत्रीय प्रहरी निरीक्षक स्टीफन डुवेस्टिनले आफ्नो टोलीले सबै पक्षमा अनुसन्धान गरिरहेको बताए। उनले सोमबारको घटनालाई ‘दुर्लभ’ भन्दै यसलाई फरक ढंगले हेर्नुपर्ने पनि बताए। उनले कन्टेनरको साइज करिब ५ स्क्वायर फिट रहेको पनि बताए। तर, उनले तौल कति छ भनेर बताउन मानेनन्।

यो कार्गो कुन एयरलाइन्सबाट आयो, यो सुन कहाँबाट आयो र कहाँ जाने हो भन्ने पनि अधिकारीले बताउन मानेनन्। –एजेन्सी