क्यानडामा खालिस्तान पक्षधर सिख नेता हरदीप सिंह निज्जरको हत्याको विषयमा अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले बिहीवार अमेरिकाले भारतलाई कुनै 'विशेष छुट' नदिने बताएका छन्।

उनका अनुसार यस विषयमा अमेरिका सरकार भारतका उच्च अधिकारीसँग सम्पर्कमा छ।

हालै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले संसद्‌मा निज्जरको हत्यामा भारतीय गुप्तचरको संलग्नता रहेको आशङ्का व्यक्त गरेका थिए। त्यसपछि दुई देशबीच तनाव चुलिएको छ।

अमेरिका भारतसँगको सम्बन्धलाई बलियो बनाउने प्रयासमा छ। यस वर्षको सुरुमा प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको राजकीय भ्रमणमा गएका थिए।

भारत-क्यानडा तनावको विषयमा अमेरिकाको चासोले के दुई देशबीचको सुमधुर सम्बन्धलाई असर गर्न सक्छ भन्ने प्रश्नको उत्तरमा सलिभनले अमेरिका जुनसुकै देश प्रभावित भए पनि आफ्नो सिद्धान्तको पक्षमा अडिग रहने बताए।

समाचारसंस्था रोएटर्सका अनुसार ह्वाइटहाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, "यो हाम्रा लागि चिन्ताको विषय हो। यो हामीले गम्भीरतापूर्वक लिने कुरा हो। यो त्यस्तो विषय हो जसमा हामी कुनै पनि देशको परवाह नगरीकन काम गर्छौँ"

"यस्तो काममा विशेष छुट पाइँदैन। हामी कुनै पनि देशको परवाह नगरीकन अडिग भएर हाम्रा आधारभूत सिद्धान्तहरूको रक्षा गर्ने छौँ। हामी क्यानडाजस्ता सहयोगीहरूसँग पनि नजिक रही काम गर्ने छौँ किनभने क्यानडाले यस मामिलामा अनुसन्धान र कूटनीतिक प्रक्रियाको नेतृत्व गरिरहेको छ।"

यस विषयमा अमेरिका दुवै देशसँग सम्पर्कमा रहेको उनले बताए।

अमेरिकी सञ्चारमाध्यममा प्रकाशित केही समाचारले अमेरिकाले यस विषयमा क्यानडासँग दूरी राखेको जनाइएको थियो।

त्यस्तो विवरणलाई खण्डन गर्दै सलिभनले भने, "अमेरिका र क्यानडाबीच कुनै मतभिन्नता छ भन्ने कुरालाई म खण्डन गर्न चाहन्छु। हामी क्यानडाले लगाएका आरोपहरूबारे चिन्तित छौँ अनि यो अनुसन्धान अगाडि बढेको र अपराधीहरूलाई उत्तरदायी बनाइएको हेर्न चाहन्छौँ।"

अमेरिकी थिङ्कट्याङ्क ‘द विल्सन सेन्टर’का दक्षिण एशिया इन्स्टिट्यूटका निर्देशक माइकल कुगलमनले अमेरिकी सुरक्षा सल्लाहकार सलिभनको भनाइ निकै महत्त्वपूर्ण भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल 'एक्स'मा लेख्दै उनले अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकारले स्पष्ट रूपमा भारतले यस मामिलामा उन्मुक्ति नपाउने जनाएका छन्।

"अमेरिकी अधिकारीले सार्वजनिक रूपमा विरलै यसरी कुरा गर्छन्।"

त्यसैगरी र्‍यान्ड कर्पोरेशनका राष्ट्रिय सुरक्षा तथा इन्डो-प्यासिफिक विज्ञ डेरिक जे ग्रोसमनका अनुसार बाइडन सरकारले मूल्यमान्यता र हितबीचको द्वन्द्व खेपिरहेको छ र त्यसका कारण विदेशनीति निरन्तर बिग्रिँदै गएको छ।

इरान, साउदी अरब र भियतनामपछि अब भारतसँग पनि त्यस्तै परिस्थिति उत्पन्न भएको सङ्केत उनले गरेका छन्।

उनले भारत र क्यानडाबीच जारी तनाव चाँडै समाधान होस् र चीनलाई चुनौती दिनका लागि अमेरिका र भारतबीच विद्यमान सहकार्य नखलबलियोस् भन्ने कामना गरेका छन्।

"अनि म नयाँदिल्लीको पश्चिमा देशहरूसँगको साझेदारी बिग्रिएको पक्कै पनि हेर्न चाहन्न," उनले लेखेका छन्।

भारत के भन्छ?

भारत सरकारले सुरुदेखि नै क्यानडाले लगाएको आरोपलाई अस्वीकार गर्दै आएको छ।

बिहीवार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले एउटा पत्रकार सम्मेलनमा यस विषयमा सोधिएका कैयौँ प्रश्नको उत्तर दिए।

"निज्जरको हत्यासँग सम्बन्धित कुनै पनि गुप्तचरी सूचना क्यानडाले हामीलाई दिएको छैन," बागचीले भने।

"क्यानडाले न त आरोप लगाउनुअघि न त आरोप लगाएपछि नै हामीलाई विशेष जानकारी दिएको छ। हामी कुनै पनि विशेष सूचना हेर्न चाहन्छौँ। तर अहिलेसम्म हामीलाई सूचना प्राप्त भएको छैन।"

उनले क्यानडाले खालिस्तान समर्थकहरूलाई आश्रय दिएको आरोप पनि लगाए।

"हामीसँग क्यानडाको भूमिमा केही व्यक्तिहरूले आपराधिक गतिविधि गरेको प्रमाण छ, हामीले ती जानकारी उनीहरूलाई दिएका छौँ तर अहिलेसम्म कुनै कारबाही भएको छैन।"

“क्यानडामा आतङ्कवादको आरोप लागेकाहरूलाई सुरक्षित आश्रय दिइएको छ। उनीहरूले त्यहाँ कारबाही गर्नुपर्छ वा सुनुवाइका लागि पठाउनुपर्छ," अरिन्दमले भने, "त्यहाँ २० जनाको कुरा छ। यस मामिलामा सुपुर्दगी वा अरू किसिमका आग्रह गरेका छौँ।"

क्यानडासँग कस्तो प्रमाण छ?
क्यानडाको सार्वजनिक प्रसारक सीबीसीले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार त्यहाँको सरकारले निज्जर हत्या प्रकरणमा जासुसी विवरण सङ्कलन गरेको छ।

क्यानडा सरकारसँग वर्तमान भारतीय कूटनीतिज्ञहरू र भारतीय अधिकारीहरूबीच भएको के कुरा भएको थियो भन्ने जानकारी पनि भएको सीबीसी न्यूजलाई सरकारी स्रोतले बताएको छ। सीबीसीका अनुसार त्यस्तो जानकारी क्यानडाबाट मात्र आएको होइन।

केही जानकारी 'फाइभ आइज इन्टेलिजन्स अलाइअन्स'को एक सहयोगी राष्ट्रले पनि दिएको छ। तर उक्त सहयोगीको नाम खुलाइएको छैन।

क्यानडासहित ब्रिटेन, अमेरिका, अस्ट्रेलिया र न्यूजील्यान्ड उक्त गठबन्धनमा सहभागी छन्।

क्यानडाले आफ्ना अधिकारीहरू निज्जर हत्या प्रकरणको अनुसन्धानमा पटकपटक भारत पुगेको जनाएको छ।

खालिस्तान पक्षधर हरदीप सिंह निज्जरको गत जुन महिनामा हत्या भएको थियो। क्यानडाको जासुसी सुरक्षा निकायले उनको जीवन खतरामा रहेको चेतावनी दिँदै आएको थियो।

क्यानडाका राष्ट्रिय सुरक्षा र जासुसी सल्लाहकार जोडी टामस गत अगस्टमा चार दिन र सेप्टेम्बरमा पाँच दिन भारतमा थिए।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएपछि क्यानडाका प्रधानमन्त्री ट्रूडोले न्यूयोर्कमा यो विषयलाई संसद्‌मा उठाउने निर्णय निकै गम्भीरताका साथ लिएको बताएका छन्।

उनले अहिले आफ्नो सरकारले प्रमाण सार्वजनिक नगरेको बताउँदै त्यो कानुनी प्रक्रियाका क्रममा बाहिर आउन सक्ने बताए।

क्यानडाका उपप्रधानमन्त्री क्रिस्टिया फ्रील्यान्डलाई गुप्तचर प्रतिवेदनबारे सोधिँदा उनले अनुसन्धान र क्यानडाले आफ्नो जिम्मेवारीका कारण फाइभ आइज सहयोगीहरूलाई खतरामा पार्न नसक्ने बताइन्।

उनले सीबीसी न्यूज नेटवर्कको 'पावर एन्ड पोलटिक्स' कार्यक्रमका सञ्चालक डेभिड कोक्रेनलाई भनिन्: "यो साझेदारी धेरै हदसम्म उनीहरूमा निर्भर गर्छ... विश्वास गरेर नै जासुसी कुराकानी गरिन्छ।"
 

कसले दिइरहेको छ सुराक?
फाइनान्शल टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडन र अन्य पश्चिमी नेताहरूले दिल्लीमा भएको जी२० शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीसँगको भेटमा क्यानडाको दाबीप्रति चिन्ता व्यक्त गरेका थिए।

उक्त पत्रिकाका अनुसार जी२० शिखर सम्मेलनको क्रममा भएको कुराकानीसँग परिचित तीन व्यक्तिले फाइभ आइजमा आबद्ध धेरै राष्ट्रले हरदीप सिंह निज्जरको हत्याको विषय प्रधानमन्त्री मोदीसँग उठाएका थिए।

तीमध्येका एक व्यक्तिले बताएअनुसार जो बाइडनले यो विषय सीधै भारतीय समकक्षीसँग उठाउनु महत्त्वपूर्ण थियो।

फाइभ आइज इन्टेलिजन्समा संलग्न देशहरूले एकअर्कासँग जासुसी जानकारी आदानप्रदान गर्छन्।

"तपाईँविरुद्ध अन्य देशमा उठेका स्वरलाई निसाना बनाउने कुरा स्वीकार्य छैन र हामी यसको विरुद्धमा कदम चाल्छौँ," अमेरिकी राष्ट्रपतीय कार्यालयको राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ता एड्रिअन वाट्सनले भनिन्।

फाइनान्शल टाइम्सका अनुसार यस विषयसँग परिचित दुई व्यक्तिका अनुसार क्यानडाले आफ्ना सहयोगी राष्ट्रलाई यो विषय प्रधानमन्त्री मोदीसँग उठाउन आग्रह गरेको र आफैले पनि उठाएको जानकारी दिएका छन्।

निज्जर हत्या प्रकरणले दुई देशबीचको सम्बन्ध अहिलेसम्मकै सर्वाधिक नराम्रो अवस्थामा पुगेको विश्लेषण भइरहेको छ।

भारतले बिहीवार क्यानडाका नागरिकलाई भिसा दिन बन्द गरेको छ र क्यानडामा आफ्नो कूटनीतिक उपस्थिति घटाउने आदेश पनि दिएको छ।

अरिन्दम बागचीले बिहीवार भारतले क्यानडालाई दिल्लीमा उसको कूटनीतिक नियोगलाई सानो बनाउन भनिएको बताए।

उनले क्यानडाको दिल्लीस्थित मिशनले भारतको आन्तरिक मामिलामा हस्तक्षेप गरेकाले त्यस्तो आदेश दिइएको बताए।

-बीबीसीबाट साभार