काठमाण्डौ । यदि तपाइँलाई कसैले क्रेडिट कार्ड सित्तैमा पाइन्छ र त्यसमा कुनै पनि शुल्क लाग्दैन भनिरहेको छ भने उसले तपाइँलाई गलत जानकारी दिइरहेको छ। क्रेडिट कार्ड (फ्री क्रेडिट कार्ड)मा पाइने तमाम छुट तथा रिवार्ड प्वाइन्टहरुका बारेमा जानकारी दिने धेरै भेटिन्छन्। तर, धेरै फाइदावाला क्रेडिट कार्ड नोक्सानीको कारण बन्न सक्छ भनेर कसैले पनि भन्ने गर्दैन। 

यदि तपाइँहरुलाई क्रेडिट कार्डमा लाग्ने शुल्कहरुका बारेमा जानकारी छैन भने सामानहरु सस्तोमा उपलब्ध गराउने क्रेडिट कार्ड तपाइँका लागि महँगो पर्न सक्छ। केही शुल्कहरु त तपाइँ हाम्रो लापरबाहीले नै लाग्ने गर्छ। केही शुल्कहरुका बारेमा त बैंक तथा एजेन्टहरुले जानकारी नै दिँर्दैनन्। 

यहाँ हामी तपाइँलाई क्रेडिट कार्डमा लाग्ने केही यस्तै शुल्कका बारेमा जानकारी गराउन गइरहेका छौँ। 

१. धेरैजसो बैंकहरुले लिने गर्छन् वार्षिक शुल्क 

यो एउटा यस्तो शुल्क हो, जुन विभिन्न बैंकले भिन्न–भिन्न रुपमा लिने गर्दछन्। धेरैजसो यस्ता बैंकहरु पनि हुन्छन्, जसले यस्तो शुल्क लिँदैनन्। केही यस्ता बैंकहरु पनि हुन्छन्, जसले यो शुल्क त लिन्छन् तर तोकिएको सीमाभन्दा अधिकका लागि क्रेडिट कार्डको प्रयोग गर्यो भने यो शुल्क फिर्ता गर्ने गर्दछन्। त्यसैले यदि तपाइँ पनि क्रेडिट कार्ड लिँदै हुनुहुन्छ भने सर्वप्रथम बैंकले यसमा वार्षिक शुल्क लिन्छ कि लिँदैन भनेर जानकारी लिनुपर्दछ। यदि वार्षिक शुल्क लिन्छ भने पनि तोकिएको सीमाभन्दा अधिकका लागि क्रेडिट कार्डको प्रयोग गरेपछि शुल्क फिर्ता हुन्छ कि हँुदैन बुझ्नुपर्छ। 

२. क्रेडिट कार्ड बक्यौतामा ब्याज

यो शुल्क भने सबैजसो बैंकहरुले लिने गर्दछन्। तर, बैंकहरुले यो शुल्क ती कार्ड होल्डरहरुलाई मात्रै लगाउने गर्दछन्, जसले समयमै क्रेडिट कार्डको बिल भुक्तानी गर्ने गर्दैनन्। अर्थात यदि बक्यौता मिति(ड्यु डेट)सम्म भुक्तानी गरियो भने कुनै शुल्क लाग्दैन। तर, यदि यसो भएन भने क्रेडिट कार्ड कम्पनीका तर्फबाट तपाइँलाई भारी ब्याज लाग्न सक्छ। स्मरण रहोस् कि न्यूनतम बक्यौता भुक्तानीले समेत तपाइँलाई भारी ब्याजबाट बचाउन सक्दैन। त्यसैले बक्यौता मितिभित्र क्रेडिट कार्डको बिल भुक्तानी गरिसक्नुपर्छ। 

३. नगद निकाल्दा तिर्नुपर्छ भारी शुल्क 

क्रेडिट कार्ड प्रयोग गर्नुअघि यो सम्झन आवश्यक हुन्छ कि क्रेडिट कार्डबाट गरिएको प्रत्येक खर्च एक प्रकारको ऋण हो। यस्तोमा यदि तपाइँले क्रेडिट कार्डबाट नगद निकाल्नुहुन्छ भने नगद निकालेको दिनदेखि नै शुल्क लाग्ने गर्दछ। अर्थात यदि तपाइँ क्रेडिट कार्डबाट सपिङ गर्नुहुन्छ भने तपाइँले बक्यौता भुक्तानी (ड्यु डेट) मितिसम्म बिना कुनै ब्याजमा पैसा तिर्नुपर्ने हुन्छ। तर, यदि नगद निकाल्नुहुन्छ भने त्यसमा नगद निकालेको दिनदेखि पैसा तिरेको दिनसम्मको ब्याज तिुर्नुपर्ने हुन्छ। त्यसैले जबसम्म नगद हासिल गर्ने सबै विकल्पहरु बन्द हुँदैनन् तबसम्म क्रेडिट कार्डबाट नगद निकाल्नुहुँदैन। नत्र ठूलो नोक्सानको सामना गर्नुपर्ने हुन सक्छ। 

४. ओभरसिज ट्रान्जेक्सन चार्ज

क्रेडिट कार्ड प्रदान गर्दाखेरी धेरैजसो बैंकहरुले आफ्नो फिचर्समा आफ्नो क्रेडिट कार्ड विदेशमा पनि प्रयोग गर्न सकिने बताउँछन्। तर, तपाइँले यो बुुझ्न आवश्यक हुन्छ कि क्रेडिट कार्ड विदेशमा प्रयोग गर्दा ठूलो शुल्क तिर्नुपर्ने हुन्छ। जसका बारेमा बैंकले केही पनि बताउने गर्दैनन्। त्यसैले तपाइँ पनि विदेश गएर सपिङ गर्नका लागि क्रेडिट कार्ड लिने सोच्दै हुनुहुन्छ भने विदेशमा कार्ड प्रयोग गर्दा कति शुल्क लाग्छ भनेर आफ्नो बैंकसँग बुुझ्नुपर्छ। –एजेन्सीको सहयोगमा