काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आज (साउन १०) गतेदेखि लघुबीमा व्यवसाय सुरु गरेको छ। 

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीको उद्घाटन गरेका हुन्। प्राधिकरणबाट म्यादी जीवन बीमा (टर्म पोलिसी)बिक्री गर्न स्वीकृति दिएसँगै कम्पनीले आजबाट लघुबीमा व्यवसाय सुरु गरेको हो। 

कम्पनीले वीरेन्द्रनगरको शुभ होटलमा एक कार्यक्रम आयोजना गरी कम्पनी लघुबीमा व्यवसायको उद्घाटन गरेको छ। क्रेष्ट माइक्रो लाइफको केन्द्रीय कार्यालय सुर्खेतको वीरेन्द्रनगरमा रहेको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रतापमान श्रेष्ठ रहेका छन् भने सञ्चालक समितिको अध्यक्षमा ऋषिराज मोर रहेका छन्। 

क्रेष्ट माइक्रो लाइफले बीमा प्राधिकरणबाट म्यादी जीवन बीमा (टर्म पोलिसी)स्वीकृत गराई हाललाई म्यादी बीमाबाटै सेवा प्रदान गर्ने सीईओ श्रेष्ठ बताउँछन्। ‘हाललाई रिस्कमात्रै कभर गर्ने गरी म्यादी जीवन बीमाबाट सेवा प्रदान गर्नेगरी व्यवसाय सुरु गर्न लागेका छौँ’, सीईओ श्रेष्ठले भने, ‘बीमा प्राधिकरणको निर्देशनमा रही सेवाहरु दिनेछौँ, प्राधिकरणबाट पछि स्वीकृत भएमा अन्य पोलिसीहरु पनि ल्याउनेछौँ।’ 

यसका साथै सीईओ श्रेष्ठले लघुबीमा कम्पनीको सेवासुविधा दिने आफ्नै दायरा रहेको बताए। ‘हामी ठूला कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न आएका हैनौँ’, उनले भने, ‘ठूला कम्पनीहरुको पहुँच नपुगेका क्षेत्रलाई टार्गेट गर्दै न्यून आय भएकाहरुलाई समेट्दै सेवा दिनेछौँ।’ 

ठूला कम्पनीहरुले सबै कभर गर्न नसकेका क्षेत्रलाई क्रेष्ट माइक्रो लाइफले समेट्ने सीईओ श्रेष्ठले बताए। ‘हाम्रो कम्पनीको लक्ष्य त्यति धेरै ठूलो छैन’, उनले भने, ‘वार्षिक ५०–६० करोड व्यवसायको मात्रै टार्गेट राखेका छौँ।’ 

‘प्राधिकरणले लघुबीमा कम्पनीलाई ५ लाख रुपैयाँसम्मको मात्रै पोलिसी बिक्री गर्न पाउने प्रावधान राखेकोले ठूलो अमाउन्टको व्यवसाय हुने अपेक्षा राखेको छैनौँ’, उनले भने। 

क्रेष्ट माइक्रो लाइफले दुर्गम क्षेत्रका बासिन्दालाई मध्यनजर गर्दै जीवन बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। हाल कम्पनीको चुक्तापुँजी ७५ करोड रुपैयाँ रहेको छ। 

प्राधिकरणले ग्रामीण एवं दुर्गम भेगमा बसोबास गर्ने नागरिकले आफ्नो स–सानो रकमबाट आफू र आफ्नो परिवार, घर, व्यवसाय, खेतीपाती, पशुपन्छी, जडीबुटीलगायतको बीमा गरी बीमा कम्पनीहरुलाई हस्तान्तरण गर्न लघुबीमा लाइसेन्स वितरण गरेको हो।