काठमाण्डौ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास घाटा व्यहोरेको छ। 

बैंकले आज सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो। समीक्षा अवधिमा बैंकले ८८ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा २२ करोड ९ लाख रुपैयाँ थियो। 

बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४७ लाख रहेको छ। 

यो त्रैमासमा बैंकले ९० करोड ८३ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २४ करोड ६५ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा बैंकले २ अर्ब ६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ८३ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी १२.१८ प्रतिशतले बढेको छ। 

बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेर ५.३३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल २.३८ प्रतिशतमा सीमित थियो। 

एनपीएल बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ७८ करोड ४८ लाख रुपैयाँ थियो।
खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढ्दा बैंक घाटामा गएको देखिन्छ। 

पहिलो त्रैमासमा बैंकले २ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो। 

चुक्तापुँजी १८ अर्ब ८८ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ४.४८ प्रतिशतले बढेर १३ अर्ब ९२ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १३ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो। 

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २८.८३ रुपैयाँले ऋणात्मक बनेको छ। अघिल्लो वर्ष ईपीएस ४.२३ रुपैयाँ रहेको थियो। बैंकको प्रतिसेयर नेटवर्थ २०६.१७ रुपैयाँ रहेको छ।