काठमाण्डौ । बितेको १५ महिनामा धेरै खराब कर्जाका कारण भारतका तीन ठूला बैंकहरू संकटग्रस्त बनेपछि विज्ञहरूले समग्र भारतीय बैंकिङ प्रणालीको वित्तीय स्वास्थ्यबारे प्रश्न उठाएका छन्। “हाम्रो व्यापारलाई शुरुमा कोभिड-१९ ले थला पार्यो। दुई महिनासम्म केही आम्दानी भएन। अनि हालसालै हाम्रो बैंकसमेत समस्यामा परेपछि हाम्रा बचत रकम पनि हामीले चलाउन पाएका छैनौँ र हाम्रा दैनिक कारोबार हुन सकेको छैन। कसरी कर्मचारीलाई पैसा दिने थाहा छैन,” लक्ष्मी विलास बैंकका बचतकर्ता ५० वर्षीय मङ्गीलाल परीहारले दुखेसो पोखे।
मुम्बई शहरको बाहिरी भागमा उनको सानो किराना स्टोर छ। प्राय: भारतीयहरूले कुनै बैंक रोज्नुपर्दा दुईवटा कुरामा ध्यान दिने गरेको पाइन्छ। एक, तिनले बचतमा दिने ब्याजदर र अर्को ती घरभन्दा कति नजिक छन्।
परीहारले पनि यिनै कुरामा भर परेर उक्त निजी बैंक रोजेका थिए। तर भारतको केन्द्रीय रिजर्भ बैंक अफ इण्डिया आरबीआईले गत महिना ९४ वर्ष अगाडि स्थापित उक्त बैंकको वित्तीय स्वास्थ्य संकटग्रस्त भएको भन्दै उसको कारोबारमा अङ्कुश लगायो। जसअनुसार बचतकर्ताहरूले एक महिनामा अब केवल भारु २५,००० सम्म मात्र झिक्ने पाउनेछन्।
पारीहारले यस्तो दु:ख पाएको यो पहिलोपटक भने होइन। आठ वर्ष अगाडि एउटा स्थानीय सहकारी बैंक संकटग्रस्त हुँदा उनले आफ्नो बचत दुई वर्षसम्म झिक्न पाएनन्।
बितेको १५ महिना यसरी संकटग्रस्त बनेको लक्ष्मी विलास तेस्रो बैंक हो। सन् २०१९ को सेप्टेम्बरमा पञ्जाब एण्ड महाराष्ट्र कोअपरेटिभ बैंक पीएमसी संकटमा परेको थियो। करिब ६० करोड डलरको धोकाधडीपूर्ण कर्जा दिएको आरोपमा उक्त बैंकमाथि अनुसन्धान भइरहेको छ।
यही वर्षको मार्च महिनामा भारतको पाँचौँ ठूलो निजी बैंक पीएमसीको कारोबारमा निषेधहरू लगाइएको थियो जब उसले आफ्नो खराब कर्जा मेट्न आवश्यक पुँजी जुटाउन सकेन। आरबीआईबाट निकै द्रुत गतिमा लक्ष्मी विलास र पीएमसी बैंकको सहायताका लागि कदमहरू चालेको छ। लक्ष्मी विलास बैंकलाई उसले सिङ्गापुरको सबभन्दा ठूलो बैंक डीबीएसमा गाभ्न सघायो भने यस बैंकमा चाहिँ पुँजी सेचन गरिदियो। तर पीएमसी बैंकका बचतकर्ताहरू अझै राहतको पर्खाइमा छन्।
तिनैमध्येकी एक हुन् ५३ वर्षीया विद्या मेर्वाड। उक्त बैंक संकटमा परेको १४ महिनापश्चात् उनी अझै आफ्नी वृद्ध आमाले दिएको सापटीबाट घर चलाउन बाध्य छिन्। छोरोलाई जर्मनीमा पढाउने अनि छोराको बिहे गरिदिने उनका योजना स्थगित गर्नुपरेको छ। “हाम्रो जीवनभरिको बचत एकैचोटीमा सखाप भयो। अब हामी कसरी बाँच्ने?”
हुन त आरबीआइले विस्तारै उक्त बैंकबाट बचतकर्ताले झिक्ने मिल्ने रकमको सीमा बढाइरहेको छ। तर मेर्वाड भन्छिन् उनीहरूको आवश्यकताभन्दा त्यो निकै कम छ।
भारतीय बैंक किन संकटमा?
पछिल्ला कैयौँ वर्षहरूदेखि भारतीय बैंकहरू ठूलो मात्राको कर्पोरेट खराब कर्जाको मारमा परिरहेको छिपेको छैन। उनीहरूले दशौँ अर्ब डलर बराबर त्यस्ता खराब कर्जा गुमाइसकेका छन्। कतिपय अर्थविद्हरू यसलाई बैंकहरूको ‘खराब कर्जाको विरासतको समस्या’ भन्ने गर्छन्। व्यापारहरूलाई गरिएका उदार कर्जा वितरणका कारण यस्ता खराब कर्जा बढ्दै गएको उनीहरू बताउँछन्।
आरबीआईका पूर्व गभर्नर रघुराम राजनले यस्ता खराब कर्जाको मुख्य कारण बैंकहरूमा देखिएको ‘अत्यधिक आशावाद र नाजायज उत्साह’ लाई मानेका छन्।
भारतको सबभन्दा ठूलो सरकारी स्वामित्वको स्टेट बैंक अफ इण्डिया एसबीआईकी पूर्वप्रमुख अर्थविद् वृन्दा जागिरदार भन्छिन् वर्तमान कोभिड समस्याले भारतीय अर्थतन्त्र सुस्ताएको सन्दर्भमा यी पछिल्ला घटनालाई हेर्नुपर्छ। “खराब कर्जाका अन्य कारणमा कमजोर कर्पोरेट शासन, अव्यवस्था तथा बैंकहरूभित्र कमजोर निगरानी प्रणाली रहेका छन्। यसलाई हरेक तहमा जबाफदेहीता बढाएर समाधान गर्न सकिन्छ,” उनले भनिन्।
यी घटनाका बाबजुद भारतीय बैंकिङ प्रणाली स्वस्थ्य धरातलमा रहेको उनले बताइन्। सन् २०१६ मा भारतले ऋणदाताहरूलाई कर्जा फिर्ता लिन सघाउन ल्याइएको टाट पल्टनेसम्बन्धी पहिलो कानुन पारित गरेको थियो। तर त्यसले बचतकर्ताहरूमा रहेका त्रास घटेको छैन।
एकजना व्यापार कार्यकारी जलजा मेहताले हालसालै दुईवटा धक्का बेहोर्नुपर्यो। उनले बचत गर्ने गरेको दुईवटै बैंक – पीएमसी र लक्ष्मी विकास – एकपछि अर्को गरी थला परे। “अब त मलाई के लाग्छ भने बैंकमा खाली थोरै रकममात्र राख्नुपर्छ र बचतको ठूलो हिस्सा घरमै आफूसँगै राख्नुपर्छ,” मेहताले भनिन्। – बीबीसी नेपाली सेवाबाट
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago