काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० मा स्वास्थ्य परीक्षणका लागि कुल ७ करोड ५६ लाख ८० हजार रुपैयाँ खर्च गरेका छन्। 

कम्पनीहरुले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार स्वास्थ्य परीक्षण शुल्क अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षमा सबै कम्पनीको स्वास्थ्य परीक्षण शुल्क घटेको देखिएको छ। जीवन बीमा कम्पनीहरुले बीमितको स्वास्थ्य परीक्षण शुल्क घटाई खर्च कटौती गरेको वित्तीय विवरणले देखाएको छ। 

गत आर्थिक वर्षको असार मसान्तसम्म सबैभन्दा बढी बीमितको स्वास्थ्य परीक्षणमा खर्च गर्नेमा नेसनल लाइफ रहेको छ। कम्पनीले समीक्षा अवधिसम्म बीमितको स्वास्थ्य परीक्षणको लागि १ करोड ५३ लाख रुपैयाँ खर्चेको छ। 

त्यस्तै नेपाल लाइफले १ करोड २७ लाख रुपैयाँ, हिमालयन लाइफले ६९ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ६७ करोड रुपैयाँ, एलआईसी नेपालले ६६ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ५६ करोड रुपैयाँ, सिटिजन लाइफले ५५ करोड रुपैयाँ, एसियन लाइफले ३१ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले २९ करोड रुपैयाँ, आइएमई  लाइफले २२ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २० करोड रुपैयाँ, सन नेपाल लाइफले १९ करोड रुपैयाँ, मेट लाइफले १८ करोड रुपैयाँ र सानिमा रिलायन्स लाइफले १८ करोड रुपैयाँ बीमितको स्वास्थ्य परीक्षणका लागि खर्च गरेका छन्। 

समीक्षा अवधिसम्म बीमितको स्वास्थ्य परीक्षण शुल्क घटाएर सर्वाधिक खर्च कटौती गर्ने कम्पनीमा प्रभु महालक्ष्मी लाइफ रहेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ६१.१४ प्रतिशतले स्वास्थ्य परीक्षण शुल्क घटाएको छ। डाटाअनुसार कम्पनीले बीमितको स्वास्थ्य परीक्षण शुल्क घटाएर जोखिम बढाएको देखिन्छ। 

त्यस्तै, दोस्रोमा सिटिजन लाइफले पनि यस्तो खर्च ६०.९२ प्रतिशतले घटाएको छ। एसियन लाइफले ५३.९४ प्रतिशत, हिमालयन लाइफले ५०.५० प्रतिशत, आइएमई लाइफले ४८.९० प्रतिशत, सन नेपाल लाइफले ४४.५४ प्रतिशत, संस्थानले ३३.५३ प्रतिशत, सानिमा रिलायन्स लाइफले २४.४६ प्रतिशत, एलआईसी नेपालले २१.७८ प्रतिशत, रिलायबल नेपाल लाइफले २०.०१ प्रतिशत, सूर्यज्योति लाइफले १९.०२ प्रतिशत, नेपाल लाइफले १२.०२ प्रतिशत, नेसनल लाइफले १०.९१ प्रतिशत र मेट लाइफले ७.३९ प्रतिशतले यस्तो शुल्क घटाएका छन्। 

जीवन बीमा कम्पनीहरुले जीवन बीमा गर्नुअघि अनिवार्य रुपमा बीमितको स्वास्थ्य परीक्षण गराउनुपर्ने प्रावधान रहेको छ। तर, पछिल्लो समय जीवन बीमा कम्पनीहरु प्रतिस्पर्धामा उत्रिएर कसले धेरै प्रिमियम कलेक्सन गर्ने भन्ने होडबाजीले बीमितको स्वास्थ्य परीक्षण शुल्क घटाइरहेका छन्। यसका साथै कम्पनीहरुले अन्य मुख्य सूचकहरु बलियो देखाउनलाई समेत बीमितको स्वास्थ्य परीक्षण शुल्क घटाई खर्च कटौती गरेको पाइएको छ। 

जीवन बीमा कम्पनीहरुले बीमितको स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधानलाई कागजमा मात्रै सीमित राखेका कारण आज जीवन बीमा क्षेत्रमा जोखिम बढ्दै गइरहेको छ। यसरी समग्रमा जीवन बीमा कम्पनीहरुको स्वास्थ्य परीक्षण शुल्क प्रत्येक वर्ष घटेको विवरणले बीमा क्षेत्रप्रति नै नकारात्मक असर पर्ने देखिन्छ। 

बीमा कम्पनीहरुले हरेक ३ महिनामा प्रकाशित गरेको वित्तीय विवरणमा स्वास्थ्य परीक्षण शुल्क छुट्याएका हुन्छन्। तर, यसरी खर्चिएको रकम वास्तविक परीक्षणका लागि नभई देखावटीका लागि मात्रै पनि हुने गरेको देखिएको छ। पछिल्लो समय बीमा कम्पनीहरुले औपचारिकताका लागिमात्रै स्वास्थ्य परीक्षण रिपोर्ट तयार गर्ने गरेको पाइन्छ। 

बीमा गर्न अयोग्य व्यक्तिहरुलाई रोक्न स्वास्थ्य परीक्षण अनिवार्य गरिएको हो। क्यान्सर तथा गम्भीर प्रकृतिका रोग लागेका व्यक्तिको बीमा नहोस् भन्ने हेतुले नै स्वास्थ्य परीक्षण गनुपर्ने व्यवस्था राखिएको हो। यसरी वास्तविक परीक्षण नै नगराई बीमा गर्दा कम्पनीमा दाबी पर्न सक्ने जोखिम उच्च रहन्छ। 

पछिल्लो तथ्यांकअनुसार बीमा कम्पनीहरुको स्वास्थ्य परीक्षण शुल्क घट्दा बीमितको स्वास्थ्य परीक्षण नै नगराई बीमा गरिएको बुझ्न सकिन्छ।