-प्रकाश बञ्जारा
यूएई । वैदेशिक रोजगारमा गएका नेपाली हरेक महिना तलब थाप्छन्, तर हरेक महिना थापेको तलब कहाँ खर्च भइरहेको हुन्छ कतिपयलाई पत्तै हुँदैन । प्राय सबै नेपालीको अरब भासिनुपर्ने बाध्यता पछाडिको मुख्य कारण, पैसाको बचत गर्ने, परिवार पाल्ने, चाँडै मुलुक गएर आफ्नै व्यवसाय गर्ने लगायतका योजना र सपनासँग जोडिएको हुन्छ । कतिपयको पैसा कमाएर शहरमा घडेरी किन्ने, सानो र चिटिक्कको घर बनाउने र आफ्ना प्रियजनलाई शहरमा राख्ने सपना हुन्छ ।
अरबमा वर्षौ बसेपछि पछि पनि आफूसँग बचत नहँुदा बुढेसकाल लागेपछि फेरी अरबतिरै जाने कि देशमै बस्ने, यो अन्यौल थुप्रै नेपालीको साझा समस्या हो । देशमा बसौ उपयुक्त रोजगार नपाईएला, केही आफ्नै व्यापार गरौं लगानी गर्न आफ्नो बचत छैन, फेरि विदेश जान खोज्दा त्यसबेलासम्म उमेर ढल्किसकेको हुन्छ । यी सबै समस्याहरुको  साझा समाधान हो, बेलैदेखि बचत गर्ने बानीको विकास गर्नु । 

जो जहाँ जस्तो अवस्थामा भए पनि आजैबाट बचत गर्न सुरु गरे समस्या परेको बेला तनावमा बस्नुपर्ने वा अरुसँग हारगुहार गरिरहने अवस्था आउँदैन । 

उसो भए विदेशमा श्रम गरिरहेका नेपालीहरुले बचत गर्छन् या गर्दैनन् ? कहाँ र कसरी बचत वा कमाएको पैसा लगानी गरिरहेको होलान् ? हामीले दुुबईमा कार्यरत केही नेपालीहरुसँग उनीहरुको बचत तथा लगानीको प्राथमिकताको क्षेत्रको बिषयमा कुराकानी गरेका छौः 
 

साजन बस्नेत, ईलाम


मेरो घरमा सबै क्रियाशिल छौ । घरका ५ जना सदस्य सबैले आफ्नो आफ्नो जिम्मेवारी निभाएका छौ र सबैको सानोतिनो आम्दानीको स्रोत छ। आफ्नै केही चिया बगान छ, घरमा भएका गाईभैसीबाट पनि आम्दानी हुन्छ । यसकारण मैले कमाएको कमाई पूरै बचत हुन्छ । हरेक बर्ष कमाएको पैसा म एकमुस्ट रुपमा घरजग्गामा लगानी गर्दैैछु । घरजग्गामा लगानी गरिएको पैसा सुरक्षित र चाँडै मुनाफा हुनेमा आउँछ । महिनाको ७०/८० हजार कमाउने मान्छेले केही ऋण लिएर भए पनि हरेक २ बर्षमा शहरको घडेरीमा लगानी गर्ने हो भने ७/८ बर्षमै करोडपतिको दाँजोमा आउन सकिन्छ । आफूले विदेशमा कमाएको पैसा बैकमा राख्नुभन्दा घर जग्गा तथा राम्रो कम्पनी खोजेर शेयरमा लगानी गर्दा राम्रो हुन्छ । अहिलेको अवस्थामा सेल्फ ईम्प्लोई, अर्काको जागिर भन्दा पनि व्यापारमा लगानी गर्न सके उज्वल भविष्य देख्छु । 

सञ्जय शाह, मोरङ


प्रवासीले कमाएको पैसा हरेकपटक तलब आएको भोलिपल्ट गोजी खालि हुन्छ । हामीले घरपरिवारको खर्च धान्न हरेकपटक तलब आउनासाथ पैसा घर पठाउनु पर्ने हुन्छ । दुःखले कमाएको पैसा खर्च गर्नुभन्दा पहिला राम्रो सँग सोच्नुपर्छ । हरेकपटक तलब आएपछि भैपरी आउने खर्च टार्नका लागि इमेरजेन्सी फण्ड बनाएर केही रकम बचत गर्नुपर्छ, जुन रकम आफूलाई अति नै आवश्यक परेको बेला उपयोग गर्न सकियोस्  । सबैभन्दा उत्तम उपाय हरेक महिना तलब आउनासाथ २ सय दिराम आफ्नो बैक खातामा सुटुक्क जम्मा गर्न सक्यो भने आवश्यक पर्दा त्यो पैसाले ठूलो गर्जो टर्न सक्छ । पसलमा सामान खरिद गर्दा क्यास पेमेन्ट गर्ने बानी बसाल्नु पर्छ, नगद पैसा तिर्ने बानी बसाल्यो भने पैसा खर्च भएको पीडा आफ्नो मनमा बस्छ । क्रेडिट कार्ड तथा डेभिट कार्डबाट पैसा गयो भने त्यति पैसा गएको महशुस हुँदैन, त्यसो भयो भने अनावश्यक सामान खरिद गर्न मन लाग्दैन भने अर्कोतिर पैसाको बचत पनि भइरहन्छ । 

 

मनोज भट्टराई , चितवन


आज हरेक व्यक्ति आफ्नो  स्वास्थयको ध्यान राख्न थालेका छन् । आफूले बचत गरेको पैसा केही जग्गा भाडामा लिएर अर्गानिक कृषि फारामतर्फ लगानी गर्दा राम्रो हुन्छ । आफूले विदेशमा कमाएको पैसा आवश्यक र खर्च चलाउने गरी मात्र घरमा पठाएर बाँकी पैसा आफ्नै बैक खातामा राखी स्वदेश फर्किएपछ व्यवसायमा लगाउनु उत्तम उपाय हो । अर्काको काम गरेर स्वदेशमा होस या विदेशमा ज्यान पाल्नु बाहेक केही उपलब्धि गर्न सकिदैन । दुखले कमाएको पैसा बचत गरेर आफूलाई मन परेको व्यवसायमा खर्च गर्नु राम्रो हुन्छ । 

लालबहादुर चौधरी, नवलपरासी


हरेक महिना तलब आउनासाथ सीमित रकम फण्डमा जम्मा गर्नु राम्रो हुन्छ । घरमा हरेक महिना पैसा पठाएर पैसा बचत हुन्छ भन्ने हँुदैन, घरमा हरेक महिना विभिन्न समस्याहरु आइरहन्छन् र बचत निकै कठीन हुन्छ । मेरो पनि बैंक खाता त छ, तर हरेक महिना शहरमा भएको परिवारलाई खर्च र छोरीहरु पढाउनुपर्ने हुनाले त्यत्ति बचत गर्न सकिरहेको छैन । मेरो जस्तो अवस्था नभएका अरुहरुलाई आम्दानीको सानो हिस्सा नियमित रुपमा बचत गर्ने सल्लाह दिन्छु ।  

 

उसो भए कसरी गर्ने बचत ? 
खुत्रुके बचत
बचत कहाँ र कसरी गर्ने भन्ने अन्यौल भएकाहरुले खुत्रुके किनेर नियमित रुपमा आफ्नो खर्च गरेर रहेको सानो पैसा खुत्रुकेमा हाल्न सुरु गर्नुहोस् । हरेकपटक आफ्नो पर्स खोल्दा भेटिने खुद्रा पैसा हाल्दै जानुभयो भने तपाई साँच्चिकै बचतप्रति चिन्तित हँुदै जानुहुनेछ । कम्तीमा एक सालपछि खोलेर गन्ती गर्नुहोस्, तपाईले कति पैसा जम्मा गर्नु भयो ।

सपिङ्गमा सिधै क्यास तिर्नुहोस 
अध्ययनहरुले देखाएअनुसार तपाईले हरेक पटक सामान खरिद गर्दा क्रेडिट कार्ड वा डेविड कार्ड प्रयोग गर्नुभन्दा क्यास पे(नगद भुक्तानी) गर्दा बचतमा फरक पर्ने गरेको छ । कारण हो, कार्डबाट पैसा जाँदा तपाईलाई त्यत्ति माया हुँदैन, जुन पीडा आफ्नै हातबाट खनखनी निकालेर पैसा दिदा हुने गर्छ । यसो भयो भने तपाईले चाहिएको सामान मात्र खरिद गर्नुहुन्छ र अनावश्यक सामानमा पैसा खर्च गर्नुहुन्न । 

आवश्यक सामान मात्र खरिद गर्नुहोस् 
मन लोभी हुन्छ, कहिँ कतै जाँदा सेलमा सस्तो सामान देख्नेबित्तिकै तपाईलाई किन्न मन लाग्छ, तर त्यो सामान तपाईलाई अति आवश्यक भने होइन । केही महिनापछि तपाईले त्यो सामान घरको एउटा कुनामा थन्किरहेको पाउनुहुनेछ । यसो हँुदा जुन सामान तपाईलाई अति आवश्यक छ, त्यो मात्र खरिद गनुभयो भने तपाईको बचतको चाहाना बढ्छ । 

बचतपत्रमा लगानी
बिनाझञ्झट ढुक्क लगानीको अवसर नेपाल राष्ट्रबैकले बेलाबेलामा प्रदान गर्दै आइरहेको छ । जसमा वैदेशिक रोजगारीमा रहेकालाई लक्षित गरी बैदेशिक रोजगार बचतपत्र जारी हुन्छ । त्यसमा हाल नेपाल राष्ट्रबैकले १० प्रतिशत बार्षिक व्याज दिदैछ । आफूलाई आवश्यक परेको बेला बचतपत्रमा लगानी गरेको प्रमाणपत्र धितो राखेर ऋण समेत लिन सकिने र बचतपत्रको अर्को फाईदा भनेको आफूले चाहेको खण्डमा सजिलै बिक्री गर्न सकिने पनि हो । 

 

बचत खाता
हाल एभरेस्ट, हिमालयन, एनआइसी एशिया, सेञ्चुरी, जनता, प्रभू लगायतका चलेका वाणिज्य बैकहरुले बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई लक्षित गरी विदेशबाटै नेपालमा बचत खाता खोल्नसक्ने अवसर दिएका छन् । रिटर्न कम आउने भएता पनि लगानी सुरक्षित हुने बचतको यो भरपर्दो माध्यम हो । विदेशमा रहँदाका बखत गरेको थोरै थोरै बचत आफ्नो मुलुकमा गएर केही गर्छु भन्नेहरुका लागि एकदमै उपयोगी हुन्छ ।