काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुले राखेको माग सम्बोधन गर्ने सम्बन्धमा व्यवस्थापन पक्ष सकारात्मक देखिएको छ। 

गत साउन १६ गते विभिन्न माग राख्दै ३३ शाखा प्रबन्धकहरुले सामूहिक राजीनामा प्रमुख कार्यकारी अधिकृत किरण बिष्टसमक्ष पेस गरेका छन्। आफ्ना माग पूरा नभए साउन २५ गतेदेखि लागू हुने गरी सामूहिक राजीनामा स्वीकृति गर्न पनि उनीहरुले दबाब दिएका छन्। 

गणपछि लघुवित्तको मानव संसाधन विभागका प्रमुख प्रभु राज थापाले शाखा प्रबन्धकहरुले उठाएका अधिकांश माग छलफल गरी पूरा गर्ने पक्षमा व्यवस्थापन रहेको बताए। ‘हामीले आउँदो शनिबार उहाँहरुका ३ जना प्रतिनिधिलाई छलफलका लागि केन्द्रिय कार्यालयमा बोलाएका छौँ’, उनले भने, ‘छलफल सकारात्मक नै हुने र उहाँहरुका जायज मागहरु पनि सम्बोधन हुने मलाई विश्वास छ।’

यस विषयमा आजभोलि नै सञ्चालक समितिको बैठक पनि बस्ने थापाले जानकारी दिए। ‘२ वर्षअघि सबै कर्मचारी तलब २० प्रतिशतले बढेको थियो’, थापाले भने, ‘यो हिसाबले तलब वृद्धिमा खासै समस्या होलाजस्तो लाग्दैन।’

शाखा प्रबन्धकहरुले तलबभत्तामा अन्य सुविधा नघट्ने गरी वर्तमान बजारको अवस्थालाई ध्यानमा राख्दै ४५ प्रतिशत तलबभत्ता वृद्धिको माग अघि सारेका छन्।

यसैगरी शाखा प्रबन्धकहरुको ७ बुँदे मागमा सहायक कर्मचारीको तलबभत्ता तथा अन्य सुविधासहित कुल ३२ हजार रुपैयाँ हुनुपर्ने रहेको छ। कर्मचारीहरुको हालसम्म स्वास्थ्य बीमा नगरिएकोले प्रतिकर्मचारी न्यूनतम २ लाख रुपैयाँबराबरको बीमा गरिनुपर्ने, श्रम ऐनमा व्यवस्था भएबमोजिम कम पारिश्रमिक भएका तल्लो तहका कर्मचारीहरुको पारिश्रमिक समायानुकूल वृद्धि हुनुपर्ने, वार्षिक ग्रेड प्रदान गर्दा कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनका आधारमा न्यूनतमदेखि अधिकतमसम्म गर्ने व्यवस्था अनिवार्य मिलाउनुपर्ने, पोसाक भत्ता १० हजार रुपैयाँ पुर्याउनुपर्ने र औषधोपचार खर्चबापत वार्षिक १० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने रहेका छन्। 

कुल ३६ शाखा रहेको यो लघुवित्तमा १८८ जना कर्मचारी कार्यरत छन्। यो लघुवित्त देशभर १४१ स्थानीय तहहरुमा सेवा प्रवाह गरिरहेको छ। 

गणपति लघुवित्तको केन्द्रीय कार्यालय तनहुँको दुलेगौँडामा रहेको छ।