काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेड र गण्डकी विकास बैंक लिमीटेडबीच बिहीबार बैंकासुरेन्स सम्झौता भएको छ । 

जीवन बिमा सेवालाई सर्वसाधारणको पहुँचसम्म सजिलै पुर्याउने उद्देश्यले यो सम्झौता भएको बताइएको छ । 

सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र गण्डकी विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । 

अब गण्डकी विकास बैंकको ७७ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ । 

साथै एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशैभर रहेका आफ्नो ११४ वटा कार्यालयहरुबाट जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिरहेको छ । 

२०७५ पुस मसान्तसम्म यस कम्पनीको जीवन बीमाकोष रु. १५ अर्ब १२ लाख रहेको छ । रु.५ अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको यस कम्पनीले चुक्ता पूँजी रु.२ अर्ब पुर्याउने उद्देश्यले निकट भविष्यमा ६० प्रतिशत हकप्रद शेयर जारी गर्नेछ ।