काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी २०७९ पुस २२ गते अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘साउथ एसियाज पाथ टु रिसाइलेन्ट ग्रोथ’ विषयक उच्चस्तरीय सम्मेलनमा सहभागी भएका छन्। 

सम्मेलनको उद्घाटनसत्रमा कोषद्वारा प्रकाशित ‘साउथ एसियाज पाथ टु रिसाइलेन्ट ग्रोथ’ नामक पुस्तक सार्वजनिक गरिएको थियो। सोही अवसरमा अन्तर्राष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक Antoinette Sayeh ले उक्त पुस्तकमा समेटिएका विषयवस्तुको सारांश प्रस्तुत गरे। 

सम्मेलनको हाई लेभल पोलिसी प्यानल डिसिजनमा विशेषज्ञ वक्ताका रुपमा गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ पछि नेपालमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै यसबाट पारदर्शिता र सुशासन अभिवृद्धि तथा सम्पत्ति शुद्धीकरण निवारणमा टेवा पुगेको धारणा राखे। 

कार्यक्रममा अधिकारीले विश्व भू–राजनीतिमा देखिएको असन्तुलनलाई अवसरका रूपमा लिई विदेशी विनिमय सञ्चिति, राजस्व तथा उपभोगका लागि विप्रेषणमा निर्भर रहेको नेपाली अर्थतन्त्रको संरचनात्मक सुधारमार्पmत मुलुकलाई दिगो आर्थिक वृद्धिको बाटोतर्फ लैजानुपर्ने आवश्यकता औँल्याए। 

सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक Antoinette Sayeh को उपस्थितिमा आयोजित क्लोज्ड ग्रुप मिटिङमा गभर्नर अधिकारीले कोषको नयाँदिल्लीस्थित तालिम केन्द्रले सार्क मुलुकका केन्द्रीय बैंकको क्षमता विकासमा महत्वपूर्ण भूमिका निभाएको चर्चा गर्दै आगामी दिनमा क्षमता अभिवृद्धि र प्राविधिक सहयोगलाई थप प्रभावकारी बनाउन कोषलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

सम्मेलनमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले समेत विशेषज्ञ वक्ताका रुपमा धारणा राखेका थिए। 

सम्मेलनको उद्घाटन सत्रमा भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले विशेष वक्ताका रुपमा सम्बोधन गर्दै सार्क मुलुकले झेल्नुपरेका वर्तमान आर्थिक चुनौतीका विषयमा धारणा राखे। उनले मूल्यवृद्धि नियन्त्रण, बाह्य ऋणको जोखिम व्यवस्थापन, उत्पादकत्व वृद्धि, इन्धन सुरक्षा तथा सार्क क्षेत्रमा हरित अर्थतन्त्र निर्माणका लागि समन्वयलगायतका विषय सार्क क्षेत्रको नीतिगत प्राथमिकतामा पर्नुपर्ने आवश्यकतामा जोड दिए। 

सम्मेलनमा अन्तर्राष्ट्रिय मुद्रा कोषको उच्च अधिकारीसँगै सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरुको सहभागिता थियो । उक्त सम्मेलनमा सहभागी भई गभर्नर अधिकारी पुस २३ गते स्वदेश फर्किएका थिए।