काठमाण्डौ। कोरोनाकालमा दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका धनाढ्यहरुले अब सरकारलाई विशेष कर तिर्नुपर्ने भएको छ।
अर्जेन्टिना सरकारले कोरोना महामारी नियन्त्रणका लागि हुने खर्चको भर्पाइ गर्नका लागि धनाढ्यहरुसँग विशेष कर असुल्ने निर्णय गरेको हो। सरकारको यो निर्णयपछि अब त्यहाँका १२ हजार धनाढ्यहरु भारी मात्रामा कर तिर्न बाध्य हुने भएका छन्।
कोरोना कर नाम दिइएको यो विशेष करलाई त्यहाँको संसदले पनि पारित गरेको छ। समाचार एजेन्सीहरुका अनुसार अर्जेन्टिनाका धनाढ्यहरुबाट उठाइने यो विशेष करबापत संकलन हुने रकम कोरोना नियन्त्रणका गतिविधि र कोरोनाबाट प्रभावित गरिब र साना व्यवसायीहरुलाई राहात उपलब्ध गराउन प्रयोग हुनेछ।
यो विशेष करअन्तर्गत त्यहाँ धनाढ्यहरु, जसको घोषित सम्पत्ति २० करोड पेसोभन्दा बढी छ, उनीहरुले सरकारलाई ३.५ प्रतिशत र विदेशी सम्पत्तिमा ५.२५ प्रतिशत कर तिर्नुपर्नेछ।
धनाढ्यहरुबाट विशेष करबापत उठ्ने कुल रकमको २० प्रतिशत मेडिकल सप्लाई, २० प्रतिशत साना र मझौला कारोबारी, १५ प्रतिशत सामाजिक विकास, २० प्रतिशत विद्यार्थीको छात्रवृत्ति र २५ प्रतिशत नेचुरल ग्यास भेन्चर्समा लगानी हुनेछ।
अर्जेन्टिनाको कुल जनसंख्या साढे ४ करोड रहेको छ। त्यहाँ हालसम्म १४ लाख मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने करिब ४० हजारको ज्यान गइसकेको छ।
कोरोना महामारीकै कारण अर्जेन्टिनामा बेरोजगारी र गरिबी दर बढेको छ। त्यसो त यो देश सन् २०१८ देखि नै आर्थिक मन्दीको चपेटामा छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19