काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले विकास बैंककै इतिहासमा सबैभन्दा न्यून ब्याजदरमा ‘घर कर्जा’ उपलब्ध गराउने भएको छ।

बैंकले ‘गरिमा सजिलो घर कर्जा’ योजना सञ्चालन गर्दै ग्राहकलाई विकास बैंकहरुमध्येमै सबैभन्दा न्यून ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको हो। यो ब्याजदर कतिपय वाणिज्य बैंकहरुले घर कर्जामा तोकेको ब्याजदरभन्दा पनि सस्तो छ।

यस योजनाअन्तर्गत ग्राहकले ९.९९ प्रतिशत ब्याजदरमै घर कर्जा पाउने बैंकले जनाएको छ। बैंकको आधार दर ९.३४ प्रतिशत छ अर्थात् ग्राहकले आधार दरमा थप ०.६५ प्रतिशत जोड्दा हुने ९.९९ प्रतिशतमै घर कर्जा पाउने छन्। 

बैंकका सीईओ गोविन्दप्रसाद ढकालले विकास बैंकहरुमै यो घर कर्जाको ब्याजदर न्यून रहेको दाबी गरे। उनले भने, ‘अहिलेको अवस्थासम्म विकास बैंकहरुले औषत ११.५ प्रतिशतसम्मको ब्याजदरमा घर कर्जा उपलब्ध गराइरहेका छन्।’

सीईओ ढकालका अनुसार सम्पूर्ण कागजपत्र पूरा गरेमा ग्राहकले तीन दिनभित्र यो कर्जा पाउनेछन्। ‘बढीमा ७ दिनभित्र हामीले कर्जा उपलब्ध गराउने लक्ष्य राखेका छौँ’, उनले भने। 

बैंकका अनुसार यो घर कर्जाका लागि सेवा शुल्कबापत ५० प्रतिशत छुटेको व्यवस्था पनि गरिएको छ। त्यस्तै १ वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन नहुने बैंकले स्पष्ट पारेको छ। 

बैंकले २ वर्षसम्म ग्रेस अवधि दिइने जनाएको छ। ग्रेस अवधिमा ब्याजमात्र भुक्तानी गरे हुन्छ। 

यो घर कर्जाको भुक्तानी अवधि ३० वर्षसम्मको हुनेछ। अन्य बैंक तथा वित्तीय संस्थाबाट घर कर्जा लिएको भए पनि त्यस कर्जालाई स्वाप गर्न सकिने र स्वाप गर्दा कुनै शुल्क नलाग्ने सीईओ ढकालले जानकारी दिए। 

बैंकले घर निर्माण गर्दा लाग्ने लागतको सतप्रतिशतसम्मको कर्जा लगानी गरिने जनाएको छ। यो कर्जा बैंकका सबै शाखाहरुबाट उपलब्ध हुनेछ।