काठमाण्डौ । गरिमा विकास बैंकले साहारा विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । 

असोज १६ गते शुक्रबार दिन गरिमा विकास बैंक लिमिटेडले सर्लाही जिल्ला मलंगवा नगरपालिका वडा नं. ९,मा प्रधान कार्यालय रहेको सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा सहमतिपत्र(एमओयु) मा हस्ताक्षर भएको हो । 

हाल गरिमा विकास बैंकको अधिकृत पुँजी ५ अर्व र जारी तथा चूक्ता पुँजी ३ अर्व  २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपैयाँ २६ पैसा रहेको छ भने सहारा विकास बैंकको अधिकृत पुँजी ५० करोड र जारी तथा चूक्ता पुँजी रु. २५ करोड ५४ लाख ८१ हजार ८ सय रुपैयाँ रहेको छ । 

गरिमा विकास बैंक लिमिटेडले हाल देशका सातै प्रदेशमा १०२ शाखा कार्यालयहरु मार्फत र सहारा विकास बैंक लिमिटेडले प्रदेश नम्बर २ को सर्लाही जिल्लामा ४ शाखा कार्यालय र १ एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रवाह गरिरहेका छन् । प्राप्ति सम्बन्धि कार्य २०७८ वैशाख १ गतेभित्र सम्पन्न गर्ने समेत सहमति भएको गरिमा विकास बैंकले जनाएको छ । 

गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति हुँदा गरिमा विकास बैंक लिमिटेड थप सशक्त विकास बैंकको रुपमा स्थापित भई मूलूकको बैकिङ परिदृश्यमा प्रभावकारी वित्तीय सेवा प्रदायक विकास बैंकको रुपमा आफ्नो उपस्थिति जनाउने बैंकको आशा छ ।