काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंक गरिमा विकास बैंकले आज(बुधबार)देखि नै लागू हुने गरी निक्षेप तथा ऋणको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । 

मंसिर १ गतेदेखि लागू भई हाल कायम पुरानो ब्याजदरमा सामान्य घटाउँदै गरिमाले नयाँ ब्याजदर कार्यान्वयनमा ल्याएको हो ।

गरिमा विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ यसअघि अधिकतम ९.७५ प्रतिशत रहेको ब्याजदरलाई घटाएर ९.४० प्रतिशत कायम गरेको हो । 

नयाँ ब्याजदरअनुसार एकवर्षभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.३० प्रतिशत, एकवर्ष वा सोभन्दा बढी अवधिका लागि ९.४० प्रतिशत कायम गरिएको छ । संस्थागत तर्फ १ वर्षभन्दा कम अवधिका लागि ७.३० र सोभन्दा बढी  अवधिका लागि ७.४० प्रतिशत ब्याजदर तोकिएको छ । 

यसअघि व्यक्तिगततर्फ एक वर्षभन्दा कम अवधि तथा एक वर्षभन्दा बढी अवधिका लागि क्रमशः ९.५० र ९.७५ प्रतिशत तोकिएको थियो । 

गरिमा विकास बैंकले बचततर्फ अधिकतम ब्याजदर ४.७५ प्रतिशत तोकेकोमा घटाएर ४.४० प्रतिशत कायम गरेको छ ।