काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गरिमा विकास बैंकको खूद नाफा घटेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४ करोड २५ लाख रहेको खूद नाफा घटेर १३ करोड २९ लाखमा सीमित भएको हो । 

अघिल्लो वर्ष २६ करोड ३४ लाख रहेको सञ्चालन मुनाफा भने बढेर २७ करोड ६१ लाखको उचाईमा पुगेको छ भने वितरणयोग्य मुनाफामा चाहिँ ८ करोड २२ लाखले ऋणात्मक बनेको छ । 

समीक्षा अवधिमा बैंकले ७९ करोड ६२ लाख बढी खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको यस्तो आम्दानी ५६ करोड ४१ लाख रुपैयाँमा सीमित थियो । 

नाफा घट्दा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस)मा प्रभाव देखिएको छ । फलस्वरुप अघिल्लो वर्षको यही अवधिसम्म रु. २०.०७ रहेको इपीएस घटेर यो वर्ष रु.१६.८४ मा सीमित बन्न पुगेको हो । 

अघिल्लो वर्ष १.०४ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात बढेर १.७१ प्रतिशत पुगेको छ भने रिजर्बको आकार १ अर्ब २८ करोडबाट बढेर १ अर्ब ४९ करोड पुगेको छ । 

समीक्षा अवधिमा गरिमा विकास बैंकले ६८ अर्ब ९६ करोड बढी निक्षेप संकलन गरी ५९ अर्ब ८५ करोड बढी कर्जा परिचालन गरेको छ । गत वर्षको तुलनामा निक्षेप र कर्जातर्फ सामान्य मात्र बढोत्तरी भएको देखिन्छ । 

समीक्षा अवधिमा बैंकको पीई रेसियो २२.७४ गुणा, प्रतिसेयर नेटवर्थ रु.१४७.१२, तरलता अनुपात २२.८८ प्रतिशत, पूँजीकोष अनुपात १३.२६ प्रतिशत कायम भएको छ ।