काठमाण्डौ । ठूला वाणिज्य बैंक नै आक्रामक भएपछि निक्षेप जोगाउनैका लागि साना वित्तीय संस्था समेत ब्याजदर वृद्धिमा आक्रामक देखिएका छन् । 

असोज महिनामा साना बित्त कम्पनीहरुले मुद्दनि निक्षेपको ब्याजदर ८.५ प्रतिशत कायम गर्ने भद्र सहमति गरेका थिए । तर, सो सहमति उनीहरुका लागि गलपासो साबित भयो । कारण वाणिज्य बैंकहरुले नै १० प्रतिशत बढी ब्याजदर दिएपछि उनीहरुले निक्षेप विथडलको निकै जटिल समस्या भोगे । यहीकारण कात्तिकमा वित्त कम्पनीले असोजको गल्ती दोहोर्याएनन् । उनीहरुले निक्षेपको ब्याजदर सकेजति बढाएका छन् । तर, केही वाणिज्य बैंकहरुभन्दा उनीहरु कतै आक्रामक देखिएका छन् । 

यसरी हेर्दा फाइनान्स कम्पनीले असोजको तुलनामा कात्तिकमा निक्षेपको ब्याजदर २.५ प्रतिशतसम्मले बढाएका देखिएको छ । 

गुड्विल फाइनान्सले ३ देखि ९ महिने अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाएर ९.५० प्रतिशत पुर्याएको छ । 

१ वर्षे अवधिको मुद्दति निक्षेपको ब्याजदर १०.५० प्रतिशत पुगेको छ भने २ वर्षे अवधिको ब्याजदर बढेर १०.७५ प्रतिशत पुगेको छ । 

त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि व्यक्तिगत समान तोकिएको छ । 

यो बैंकले बचत खाताको ब्याजदर ६.५० देखि ८ प्रतिशतसम्म कायम गरेको छ । 

यो कम्पनीको भदौको बेस रेट ९.११ प्रतिशत रहेको छ । कर्जाको नयाँ ब्याजदर बेस रेटमा ६.५० प्रतिशतसम्म प्रिमियम तोकेर कायम गरिएको छ । 

रिलायन्स फाइनान्स लिमीटेडले लामो अवधिको मुद्दति निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशत पुर्याएको छ । 

व्यक्तिगत मुद्दतितर्फ ३ महिने अवधिका लागि १०.२५ प्रतिशत, ६ महिने अवधिका लागि १०.५० प्रतिशत, ९ महिने अवधिका लागि १०.७५ प्रतिशत, १२ महिना र सोभन्दा बढी अवधिका लागि ११ प्रतिशत ब्याजदर कायम गरिएको छ । २४ महिनाभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर आपसी समझदारीमा कायम गर्न सकिने कम्पनीले जनाएको छ । 

यस्तै, संस्थागत मुद्दति निक्षेपतर्फ ३ महिने अवधिको ब्याजदर १० प्रतिशत, ६ महिने र ९ महिने अवधिको ब्याजदर १०.५० प्रतिशत र १२ महिना वा सोभन्दा बढी अवधिको ब्याजदर ११ प्रतिशत कायम गरिएको छ । 

सेन्ट्रल फाइनान्स लिमीटेडले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । यो कम्पनीले ३ महिनादेखि २ वर्ष अवधिसम्मको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १०.५० प्रतिशत तोकेको छ। 

दुई वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर चाहि निक्षेपकर्तासँगको सहमतिमा कायम गरिने बताइएको छ । 

बचततर्फको अधिकतम ब्याजदर ६.५० प्रतिशत कायम गरिएको छ । 

भदौको बेस रेट ९.०९ प्रतिशत रहेको छ । यो कम्पनीले लोनको नयाँ ब्याजदर बेस रेटमा अधिकतम ५ प्रतिशत प्रिमियम जोडेर तय गरेको छ । 

यसैगरी, नेपाल फाइनान्सले पनि व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशतसम्म ब्याजदर अफर गर्दै नयाँ दर सार्वजनिक गरेको छ । 
व्यक्तिगत मुद्दतितर्फ तीन महिने अवधिका लागि ७.५० प्रतिशत, ६ महिने अवधिका लागि ९ प्रतिशत, एक वर्षे अवधिका लागि १०.७५ र एक वर्षभन्दा बढी अवधिका लागि ११ प्रतिशत ब्याजदर तोकिएको हो। 

संस्थागत मुद्दतितर्फ भने ६ महिने अवधिका लागि ८.२५ प्रतिशत, एक वर्षेका लागि ९.७५ प्रतिशत र एक वर्षभन्दा बढी अवधिका लागि १० प्रतिशत ब्याजदर कायम गरिएको छ । 

नेपाल फाइनान्सले बचतको ब्याजदर ६.२५ प्रतिशतदेखि ७ प्रतिशतसम्म तोकेको छ । 

यस्तै, बेस्ट फाइनान्स कम्पनीले पनि एक वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशत पुर्याएको छ । 

व्यक्तिगत मुद्दतितर्फ ३ देखि ६ महिना अवधिको ब्याजदर ८.५० प्रतिशत, ६ महिनादेखि १ वर्षे अवधिको ब्याजदर ९.५० प्रतिशत र एक वर्षभन्दा बढी अवधिको लागि १०.७५ प्रतिशत ब्याजदर कायम गरिएको छ । 

संस्थागत मुद्दति निक्षेपतर्फ ३ देखि ६ महिना अवधिका लागि  ८.५० प्रतिशत, ६ महिनादेखि १ वर्षे अवधिका लागि ९.५० प्रतिशत र एक वर्षभन्दा बढी अवधिका लागि ११ प्रतिशत ब्याजदर तोकिएको छ । बिडिंग ब्याजदर भने ११.२५ प्रतिशत तोकिएको छ । 

बचत खातामा यो कम्पनीले पनि ६.२५ प्रतिशतदेखि ७ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेको छ ।