युएई । वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स युएईको दुवई आएका मकैसिङ्ग गोरखाका ताराबहादुर गुरुङ्ग विगत १० दिन देखि अचेत अवस्थामा दुवईको रसिद हस्पिटलमा रहेका जानकारी प्राप्त भएको छ । 

दुवईको ब्लु डायमण्ड सेक्युरिटि सर्भिस नामक कम्पनीमा सुरक्षा गार्डको काम गर्ने गुरुङ्ग अगस्ट ८ तारिख अचानक बान्ता गर्ने र टाउको दुख्ने भएपछि एम्बुलेन्स मार्फत अस्पताल लगिएको र ब्रेन ट्युमरको उपचार भईरहेको उनीसँगै काम गर्ने काठमाण्डौ घर भएका पवन आचार्यले बिजशालालाई जानकारी दिए । 

कम्पनीले उपचार भइरहेको र नआत्तिन आग्रह गरेको भएता पनि दश दिनदेखि बेहोस भएको र ब्रेन ट्युमरको बिराम भएकाले सामान्य अवस्थामा फर्किने आशा कमै रहेको उपचारमा संलग्न डाक्टरलाई उद्धृत गर्दै आचार्यले बताए । 

३७ वर्षीय गुरुङ्ग नेपाली सेनाका रिटायर्ड हुन् भने उनका घरमा आमा, श्रीमति र एक छोरा रहेको दुवईमै काम गर्ने उनका आफन्त  रेखबहादुर गुरुङ्गले बताए । 

कम्पनीले नै गुरुङ्गको उपचारमा अस्पतालसँग समन्वय गरिरहेकाले उनको उपचार तथा अस्पतालको कुनै कागजपत्र आफन्त र साथीभाईलाई उपलब्ध नगराइएको साथी पवन आचार्यको भनाई छ । 

अस्पतालको शैयामा बेहोस गुरुङ्ग राजधानी काठमाण्डौको सामाखुसीमा रहेको अञ्जली आभरसिजबाट लगभग ४ लाख रुपैँया तिरेर ४ महिनाअघि मात्र दुवई आएको आचार्य बताउँछन् । आफूहरु पनि दुवईमा नयाँ भएकाले कहीँकतै सम्पर्क गर्न नसकेको तथा नेपाली राजदुताबाससँग पनि सम्पर्क गर्न नपाएको आचार्यले बिजशालालाई बताए । 

बिरामीलाई नेपाल फर्काउन र अन्य कुटनीतिक पहल गरिदिन उनका आफन्त समेत रहेका रेखबहादुर गुरुङ्गले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । बिरामी गुरुङ्ग दुवईको सोनापुर स्थित कम्पनीको क्याम्पमा बस्ने गर्थे ।