काठमाण्डौ । गोर्खाज फाइनान्स लिमीटेडले बिक्री नभएको १० लाख ५५ हजार बढी कित्ता हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ । 

यो फाइनान्स कम्पनीले आगमी साउन १० गतेदेखि इच्छुक लगानीकर्तालाई शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो । साउन १९ गतेसम्म इच्छुकले बोलपत्र पेश गर्न सक्ने व्यवस्था गरिएको छ । यो फाइनान्सले गत जेठ १ गतेदेखि २ बराबर १ का दरले हकप्रद निश्कासन गरेको थियो । 

जसमध्ये ९ लाख ७ सय ९३ कित्ता संस्थापक र १ लाख ५४ हजार ३ सय ९६ कित्ता साधारण सेयर बिक्री भएको थिएन । संस्थापक र साधारण गरी बिक्री नभएको यही १० लाख ५५ हजार १ सय ८९ कित्ता सेयर लिलामीमा राखिएको हो । संस्थापक सेयरमा गोर्खाज फाइनान्सका हालका संस्थापक सेयरधनीले मात्र बोल लगाउन पाउनेछन् । 

शिलबन्दी बोलपत्र पेश गर्न इच्छुकले प्रति कित्ता सेयर मूल्य न्यूनतम १ सय रुपैयाँ र न्यूनतम १ सय कित्ताका लागि बोल लगाउनुपर्नेछ । 

शिलबन्दी बोलपत्रका नतिजा साउन २० गते प्रकाशन हुने फाइनान्सले प्रकाशन गरेको सूचनामा उल्लेख छ । 

एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले गोर्खाज फाइनान्सको सेयर लिलामीमा बिक्री प्रबन्धकको काम गर्नेछ । काठमाण्डौको लाजिम्पाटस्थित एनआइबिएल क्यापिटलको मुख्य कार्यालयबाट इच्छुकले शिलबन्दी  बोलपत्र पेश गर्नसक्नेछन् । 

गोर्खाज फाइनान्सको चुक्तापूँजी ५७ करोड ८६ लाख रुपैयाँ रहेको छ । हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी बढेर ८६ करोड ७९ लाखको उचाईमा पुुग्नेछ ।