काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा तुलसीराम गौतमले कार्यभार सम्हालेका छन् । 

उनले बैशाख १९ गतेदेखि कार्यभार सम्हालेका बैंकले विज्ञप्ति जारी गरी जनाएको छ । 

नवनियुक्त सीइओ  गौतमलाई बैंकको सञ्चालक समिति तथा का. मु. प्रमुख कार्यकारी अधिकृत  जीवन भट्टराईले स्वागत गरेका थिए ।

विगत ७ महिनादेखि नायव प्रमुख कार्यकारी अधिकृतको  जिम्मेवारी  सम्हालेका भट्टराईले यसअवधिमा सेञ्चुरी बैंकलाई सफलताको नयाँ  सिढीमा उकालेका थिए, उनको  कामको प्रतिबिम्ब तेश्रो त्रैमासको प्रगति विवरणमा झल्किएको  थियो ।

यता, सीइओको कार्यभार सम्हालेका गौतम अनुभवी बैंकरको रुपमा परिचित छन् । नेपाल बैंकबाट बैंकिङ्ग सेवा सुरु गरेका उनले त्यहाँ १३ वर्ष काम गरेका थिए । त्यसपश्चात् नेपाल इण्डोस्वयज बैंकमा ७ वर्ष, नेपाल एसबीआई बैंकमा कर्जा प्रमुख भई १० वर्ष र माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा रही ४ वर्ष काम गरेका थिए । 

गौतमले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङ्ग र वित्त विषयमा स्नातकोत्तर  गरेका छन् । उनको अनुभव तथा नेतृत्वमा सेञ्चुरी बैंकले नेपालको बैंकिङ्ग जगतमा विशिष्ट पहिचान बढाउँदै अगाडि बढ्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।