काठमाण्डौ । अमेरिकाको बजेट घाटा यो बजेट वर्षको पहिलो ११ महिनामा ३ लाख करोड डलरसम्म पुगेको छ । यस्तो जानकारी अमेरिकाको वित्त मन्त्रालयले दिएको हो । 

कोरोनाभाइरसका कारण उत्पन्न भएको आर्थिक मन्दीसँग जुध्नका लागि सरकारबाट खर्च बढाइएका कारण अमेरिकाको बजेट घाटा यो रेकर्डस्तरमा पुगेको हो । 

अक्टोबरबाट अगस्तसम्मको बजेट घाटा ११ महिनाको पछिल्लो रेकर्ड बजेट घाटाको तुलनामा दुई गुणा भन्दा धेरै छ । ११ महिनाको पछिल्लो रेकर्ड बजेट घाटा सन् २००९ मा १.३७ लाख करोड डलर कायम भएको थियो । त्यसबेला अमेरिकी सरकारले सन् २००८ को विश्वव्यापी वित्तीय संकटको कारण उत्पन्न भएको आर्थिक मन्दीबाट अर्थतन्त्रलाई बाहिर निकाल्नका लागि व्यापक खर्च गरेको थियो । 

अमेरिकामा बजेट वर्ष २०२० समाप्त हुन अझै एक महिना बाँकी रहेको छ । ३० सेप्टेम्बरको बजेट वर्ष समाप्त हुँदासम्म देशको बजेट घाटा अझै बढ्नेछ । कंग्रेसको बजेट कार्यालयको अनुमानअनुसार यो बजेट वर्षमा अमेरिकाको बजेट घाटा ३.३ लाख करोड डलर पुग्नेछ । 

गत वर्ष अमेरिकाको बजेट घाटा ९८४ अर्ब डलर मात्रै थियो । सन् २००९ मा अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै एक वर्षे बजेट घाटा देखिएको थियो । त्यतिबेला अमेरिकाको बजेट घाटा १.४ लाख करोड डलर पुगेको थियो । कोरोनाभाइरस महामारीसँग लड्नका लागि कंग्रेसले अहिले सम्म करीब ३ लाख करोड डलरको राहतका लागि अनुमति दिइसकेको छ । 

कंग्रेसको बजेट कार्यालयले यो वर्षको अन्तिम सम्म अमेरिकी सरकारको ऋण जीडीपीको ९८ प्रतिशत पुग्ने र अर्काे वर्ष यो जीडीपीभन्दा पनि बढी पुग्ने अनुमान लगाएको छ । अमेरिकी इतिहासमा सन् १९४० को दशक पछि यस्तो भएको छैन । दोस्रो विश्वयुद्धको बेला अमेरिकाको ऋण जीडीपीभन्दा धेरै पुगेको थियो । 

सन् २०१९ को अन्तिममा अमेरिकी सरकारको ऋण जीडीपीको ७९ प्रतिशत बराबर थियो । महामन्दीको अघि सन् २००७ मा यो जीडीपीको ३५ प्रतिशत बराबर थियो । अमेरिकाको सरकारी ऋण बढिरहेको तर यसमाथि तिर्नुपर्ने ब्याज पछिल्लो वर्षको तुलनामा १० प्रतिशत घटेर ४८४ अर्ब डलर पुगेको छ । वित्त मन्त्रालयका अधिकारीहरुले मन्दीका कारण ब्याजदर घटेकाले ब्याज कम भएको बताएका छन् । 

यो बजेट वर्षको अगस्ट महिनासम्म अमेरिकाको करबाट हुने आय ३.०५ लाख करोड डलर पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.३ प्रतिशत कम हो । यस्तै यो अवधिमा अमेरिकी सरकारको खर्च ६.०५ लाख करोड डलरसम्म पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ४.१६ लाख करोड डलर थियो । 

यो  वर्ष अमेरिकाको वित्तीय घाटा जीडीपीभन्दा ८ प्रतिशत माथि जाने आशंका गरिएको छ । 
-सिएनएनबाट