काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमीटेडले प्रवद्र्धन गरिरहेको ५ वर्षे बन्दमुखी म्युचुअल फण्ड ग्लोबल आइएमई समुन्नत स्कीम-१ को खूद सम्पत्ति मूल्य घटेको छ । 

मंसिर मसान्तसम्मको तुलनामा पुस मसान्तसम्मको खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालू) घटेको हो।

आइतबार प्रकाशित वित्तीय विवरणका अनुसार मंसिर मसान्तसम्मको नेट एसेट भ्यालू ९ रुपैयाँ ३४ पैसा रहेकोमा घटेर ९ रुपैयाँ २१ पैसामा झरेको हो । यो स्कीमको नेट एसेट भ्यालू प्रति इकाई मूल्य भन्दा तल रहेको छ । 

एक अर्ब रुपैयाँबाट सुरु भएको एक स्कीमले यो अवधिमा ४० करोड २ लाख रुपैयाँ विभिन्न सूचिकृत कम्पनीको सेयरमा तथा ६ करोड ४२ लाख सूचिकरण नभएका सेयरहरुमा लगानी गरेको छ । 

पुस मसान्तसम्मको अवधिमा यो स्कीम १ करोड २४ लाख रुपैयाँ घाटामा रहेको छ । 

सूचिकृत कम्पनीको सेयरमा भएको कुल लगानीमध्ये यो स्कीमले सबैभन्दा बढी नवील ब्यालेन्स फण्डको ७ लाख २१ हजार २ सय १० कित्ता सेयरमा लगानी गरेको छ । सबैभन्दा बढी रकम नागरिक लगानी कोषको १३ हजार ८ सय २६ कित्ता सेयरमा ५ करोड ३९ लाख रुपैयाँ लगानी गरेको छ ।