काठमाण्डौ । वर्तमान कोरोना महामारीको परिस्थितिमा डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न ग्लोबल आईएमई बैंकले ग्राहकलाई मोबाइल बैंकिङ सेवा ६ महिना निःशुल्क उपलब्ध गराउने भएको छ। 

बैंकले बुधबार एक सूचना जारी गर्दै ग्राहकलाई ६ महिनाका लागि निःशुल्क बैंकिङ सेवा उपलब्ध गराउने जानकारी गराएको हो। बैंकले ग्राहकलाई आफ्नो मोबाइलबाटै रजिस्ट्रेसन गरी मोबाइल बैंकिङ सेवा लिन आग्रह गरेको छ। 

यसैगरी बैंकले वर्तमान अवस्थामा ग्राहकलाई यथासक्य बैंकको काउन्टरसम्म आउन नपर्ने गरी डिजिटल सेवा प्रयोग गर्न अनुरोध गरेको छ। बैंकले यसका लागि एटीएम कार्ड प्रयोग गर्न र देशभर जुनसुकै बैंकको एटीएम बुथबाट यो बैंकको कार्ड प्रयोग गर्दा निःशुल्क रहेको अवगत गराएको छ। 

बैंकले न्यूनतम १ हजार रुपैयाँकै मौज्दात पनि नयाँ खाताधारी ग्राहकलाई निःशुल्क रुपमा एटीएम उपलब्ध गराउने भएको छ। यस्तै २५ हजार वा सोभन्दा बढी औसत मौजदाता कायम गर्ने ग्राहकहरुलाई पनि एटीएम कार्ड निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ। 

अहिलेको परिस्थितिमा डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न एटीएम कार्ड नलिएका ग्राहकहरुलाई पनि तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउन लागिएको बैंकले जनाएको छ।