काठमाण्डौ। सेयर बजारमा सोमबार दोहोरो अंकको करेक्सन आएको छ। 

मौद्रिक नीति सार्वजनिक भएकै दिन ६३ अंकले बढेको नेप्सेमा आज २६ अंकको करेक्सन भएको हो। नेप्से परिसूचक १.१९ प्रतिशतले घटेर २२०० विन्दुमा कायम हुन पुगेको छ। 

यसका साथै सेन्सेटिभ र फ्लोट इन्डेक्स १.४४ प्रतिशतले घटेको छ। मार्केट घटे पनि ४ अर्ब ७३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। 

नेप्सेमा रहेका १३ उपसूचक समूहमध्ये आज म्युचुअल फन्ड र अन्य उपसूचकबाहेकका सबै इन्डेक्सहरु राताम्य भएका छन्। जीवन बीमा उपसूचक १.१६ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.१४ प्रतिशतले घटेको छ। 

दुवै बीमा उपसूचक घट्दा यता नेपाल पुनर्बीमा कम्पनीको सेयरभाउ भने बढेको छ। यो कम्पनीको सेयरभाउ ५.९६ प्रतिशतले बढेर ८०० रुपैयाँ कायम भएको छ। 

आज सर्वाधिक कारोबार गर्ने १० कम्पनीको शीर्ष स्थानमा नेपाल पुनर्बीमा कम्पनी नै रहेको छ। यो कम्पनीको आज २५ करोड ५६ लाख रुपैयाँमाथिको कारोबार भएको छ। 

त्यस्तै प्रभु इन्स्योरेन्सको सेयरभाउ पनि १.३० प्रतिशतले बढेर ७६८.९० रुपैयाँ कायम भएको छ। तीन दिन सेयर कारोबार रोक्का रहेको यो सेयर कारोबार नेप्सेले आजै फुकुवा गरिदिएको थियो। 

यसैगरी सानिमा रिलायन्स लाइफको ०.५३ प्रतिशतले बढेर सेयरभाउ ५६८ रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.३३ प्रतिशतले बढेर सेयरभाउ ८१९.८० रुपैयाँ कायम भएको छ। 

बीमा इन्डेक्स घट्दा सर्वाधिक गुमाउनेमा हिमालयन एभरेस्ट इन्स्योरेन्सका सेयरधनीहरु रहेका छन्। यो कम्पनीको सेयरभाउ २.७८ प्रतिशतले घटेर ६३० रुपैयाँ कायम भएको छ। 

त्यस्तै एसियन लाइफको २.४९ प्रतिशत, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २.२१ प्रतिशत, शिखर इन्स्योरेन्सको २.०५ प्रतिशत, हिमालयन लाइफको २.०४ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको २.०२ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.९१ प्रतिशत, एलआईसी नेपालको १.५३ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.५० प्रतिशत, युनाइटेड अजोडको १.२० प्रतिशत, नेसनल लाइफको १.१० प्रतिशत, सूर्यज्योति लाइफको ०.९५ प्रतिशत, नेपाल लाइफको ०.९१ प्रतिशत, नेकोको ०.२२ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.०१ प्रतिशतले सेयरभाउ घटेको छ।