काठमाण्डौ । भारतीय अर्थतन्त्रका लागि खुसीको खबर आएको छ। यो भारतको चालु खाता घाटामा बारेमा हो। 

भारतीय रिजर्भ बैंक (आरबीआई)ले हिजोमात्र वर्ष २०२२–२३ को चौथो त्रैमासमा देशको चालु खाता घाटाको डाटा जारी गरेको थियो। यसले आर्थिक वर्ष २०२२–२३ को जनवरी–मार्च त्रैमासमा १.३ अर्ब डलरमा झरेको देखाएको छ। अर्थात् अहिले जीडीपीको ०.२ प्रतिशतमा झरेको छ। 

चालु खाता घाटा घट्नुको फाइदा भनेको अब भारत सरकारले विकास निर्माण वा आवश्यक आयोजनामा खर्च गर्न बढी विदेशी मुद्रा पाउनेछ।

आरबीआईले मंगलबार सार्वजनिक गरेको तथ्यांकले सेवा निर्यातमा भएको ठूलो वृद्धिका कारण चालु खाता घाटामा गिरावट आएको देखाएको छ। सोही अवधिमा कच्चा तेलको मूल्य पनि घटेको बताइएको छ।

भारतमा प्रयोग हुने कच्चा तेलको करिब ८५ प्रतिशत विदेशबाट मात्रै आउँछ। कच्चा तेलको मूल्य घट्दा भारतको आयात बिल घटाउने निश्चित छ। एकातिर सेवा निकासीबाट भारतले बढी विदेशी मुद्रा भित्र्याइरहेको छ भने अर्कोतिर कच्चा तेल सस्तो भएकाले कम खर्च भइरहेको छ। त्यसैले विदेशी मुद्रा सञ्चिति बढ्नेछ र चालु खाता घाटा कम हुने आरबीआईले जनाएको छ। 

२०२२–२३ को तेस्रो त्रैमासिकमा भारतको चालु खाता घाटा १६.८ अर्ब अमेरिकी डलर (जीडीपीको २.० प्रतिशत) थियो। चौथो त्रैमासिक अवधिमा आश्चर्यजनक सुधार भएको छ। चौथो त्रैमासिकमा चालु खाता घाटा १.३ अर्ब अमेरिकी डलरमा झरेको छ। अर्थात् भारतको जीडीपीको ०.२ प्रतिशतमात्रै हो। यो अघिल्लो वर्षको चौथो त्रैमासिकमा १३.४ अर्ब अमेरिकी डलर (जीडीपीको १.६ प्रतिशत) थियो।

चालु खाता घाटा कुनै पनि देशको भुक्तानी सन्तुलनको प्रमुख सूचक हो। आरबीआईले चालु खाता घाटा आफ्नो व्यवस्थित दायराभित्र रहने जनाएको छ। यो न्यून रह्यो भने भारतीय अर्थतन्त्र, सेयर बजार र जनताको लगानी बढ्नेछ। विश्वभरका लगानीकर्ताले भारतमा लगानी गर्नेछन् किनकि कम चालु खाता घाटाले लगानीकर्ताको मनोबल बढाउन सक्छ। 

चालु खाता बचतले देशमा पैसाको प्रवाह भएको संकेत गर्छ। जसले विदेशी मुद्रा सञ्चिति र स्थानीय मुद्राको मूल्य बढाउन सक्छ। –एजेन्सी