काठमाण्डौ । बैंकहरुको अन्तरबैंक ब्याजदर घटेको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अन्तरबैंक ब्याजदर एकैदिन १.५ प्रतिशतले घटेको हो। योसँगै फागुन १० गते अन्तरबैंक ब्याजदर ७ प्रतिशतमा झरेको छ। अघिल्लो दिनसम्म अन्तरबैंक ब्याजदर ८.५ प्रतिशत थियो।

फागुन १० मा एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ। गत फागुन ९ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५३ खर्ब ८० अर्ब रुपैयाँ रहेकोमा फागुन १० गते बढेर ५३ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ। 

वाणिज्य बैंकहरुको निक्षेप पनि ५ अर्ब रुपैयाँले बढेर फागुन १० गते ४७ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन ९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४७ खर्ब ४२ अर्ब रुपैयाँ थियो।

यो एक दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले घटेको छ। गत फागुन ९ गतेसम्म कुल कर्जा लगानी ४८ खर्ब २३ अर्ब रुपैयाँ रहेकोमा फागुन १० गतेसम्म घटेर ४८ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ। वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले घटेर ४२ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब ७९ अर्ब रुपैयाँ थियो।

फागुन १० गते बैंकहरुको औसत सीडी रेसियो ८६.१७ प्रतिशतमा झरेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८६.२७ प्रतिशत थियो।