काठमाण्डौ । नेपाली बजारमा बिहीबो अमेरिकी डलरको भाउ सामान्य ओरालो लागेको छ। 

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३३.२२ रुपैयाँ र खरिददर १३२.६२ रुपैयाँ कायम भएको छ। डलरको भाउ उच्च विन्दुबाट ३२ पैसाले तल झरेको छ। 

नेपाली बजारमा गत मंगलबार (असोज २ गते) अमेरिकी डलरको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको थियो। यो दिन १ अमेरिकी डलरको बिक्रीदर १३३.५४ रुपैयाँ र खरिददर १३२.९४ रुपैयाँ कायम भएको थियोे। जुन नेपाली बजारमा हालसम्मकै उच्च हो। हिजो बुधबार भने डलरको भाउ स्थिर रहेको थियो।

पछिल्लो समय भारतीय मुद्रा पनि डलरको तुलनामा कमजोर बन्दै गएको छ। नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ। 

भारतमा पछिल्लो समय विदेशी लगानीकर्ताले लगातार आफ्नो लगानी फिर्ता लगिरहेका छन्। जसका कारण त्यहाँको विदेशी मुद्राको सञ्तिचित घट्न पुगेको छ। यसले भारु डलरको तुलनामा कमजोर बनेका खबरहरु पनि सार्वजनिक भइरहेका छन्। 

अमेरिकी डलरको तुलनामा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली मुद्रामा पर्ने गरेको छ। यद्यपि, डलरको भाउ बढ्दा देशमा भित्रिने रेमिट्यान्स बढ्छ। निर्यातजन्य व्यापारमा समेत यसले राहात दिन्छ। 

उता नेपालजस्तो आयातमुखी अर्थतन्त्रमा डलरको भाउ बढ्दा व्यापार घाटामा झनै चाप पर्छ। देशमा आयात हुने सामानको भुक्तानी डलरमा गर्नुपर्ने बाध्यताले यस्तो अवस्था बनाउँछ।