-प्रकाश बञ्जारा
अघिल्लो साल मात्रै सरकारी सेवामा प्रवेश गरेको भाई बेला–बेलामा ‘दाई यो सरकारी जागिरले भएन, अब कि जापान कि क्यानडातिर जानुपरो’ भन्छ । जिस्किएको हो कि सिरियस हो, उमेरमा दाई भएकैले हप्काईको भाषामा “किन जानु परो जापान र क्यानडा त्यहिँ राम्रो परिश्रम गर न, देशमै सम्भावना छ” भनेर सम्झाउँछु । केही दिन चूप लाग्छ, फेरि उसको त्यस्तै निराशाको भनाई आउँछ–‘यो जागिरले नहुने भयो दाजु, यति मुला तलबले कहिले कमाउनु ? के गरेर बिवाह गर्नु ? अनि घरपरिवार पनि छ चलाउनु पनि पर्यो ।’ मेरो ढाडस उहि नै थियो । ‘होइन देशमै बस्नुपर्छ, थुप्रै सम्भावनाहरु छन् पढाईलाई निरन्तरता दिनु पछि मौका आएको बेला माथिल्लो पदको लागि भिडनुपर्छ ।’ 

गाउँको अर्को भाई हेमन्तले नेपाली सेनामा पाएको जागिर छोडेर ‘दाई दुवईतिर आउनुपर्यो, कसरी आउने ?’ भन्दै फेसबुक म्यासेन्जरमा खबर पठाएको पनि १ बर्ष भन्दा बढि नै भयो । वर्किङ्ग भिषामा आउन लाग्ने खर्च र हत्तपत्त भिषा नलाग्ने कारण एकपल्ट त ‘भिजिट भिषामा आएर काम खोज्छु दाई कस्तो छ’ भनेर सल्लाह मागे । ‘भिजिट भिषामा आएर काम पाउन गाह्रो हुन्छ भाई, अहिले समय ठिक छैन, बरु सानो तिनो कम्पनीमा वर्किङ्ग भिषामै आउ’ भनेर सम्झाएँ ।  

जागिर छोडेर घरि दुवई त घरि अर्को देशको लागि दलालीलाई पासपोर्ट बुझाएर लामो समय बसिसकेपछि अहिले हेमन्त पुनः अर्को सरकारी सेवामा प्रवेश गरेछन् ।

‘सरकारी जागिर नपाएर हामी विदेशियौं, तिमीलाई विदेसिन किन मन लागेको हो ?’ मैले हेमन्तलाई प्रश्न गरेँ । उनले नेपालको कामले आफूलाई मात्र पाल्न पनि कठिन भएको बताए । नामको मात्र जागिर छ, उता जहिल्यै गोजी खाली हुन्छ । यसले गर्दा आफन्त र घरमा चित्त बुझाउन सहज हुँदैन । फेरी साथिभाईबाट पनि अबहेलना सहनुपर्छ । 

‘घर कहिले आउँछस् ?’ खाडी छिरेदेखि आफन्तले बारम्बार तेर्साउने प्रश्न हो । कहिलेकाही सँगै पढेका साथीहरु सामाजिक सञ्जालमा भेटिन्छन् र सोध्छन्–‘कति कमाउँछस हौ अब त फर्किने बेला भएन र ?’ उ बेलामा कपुरी क पढाउने गुरुसँग कहिलेकाही ठोक्किन पुगिन्छ, गुरुले सोध्नुहुन्छ–‘नेपाल कहिले फर्किन्छौ ? जिवन सँगिनीले “अब त साथै बसौँ न हौ कति बाहिर मात्रै बस्नुहुन्छ ।”  भनेको पनि थुप्रै भइसक्यो । 

बेला बेलामा मात्र घरमा झुल्किने गरेको देखेर छोरीले बाबालाई मोवाइलमा देख्नेबित्तिकै ‘बाबा त घर आउनुहुन्न, म बोल्दिँन’ भनेर घुक्र्याउँछे । एक हिसाबले परदेशी नराम्रोसँग  बिरानो भएका हुन्छन् घरबाट, समाजबाट, र पूरै देशबाट । 

हाम्रा अघिल्लो पुस्ता कोही पनि रोजगारीका लागि विदेश गएनन्, एका दुई बाहेक । कोही कोही लाहुर गए, ‘गोर्खा’ भनेर चिनिए । कोही कोही व्यापारको सिलसिलामा गए । आज जमाना कसरी फेरियो । बैदेशिक रोजगारीमा नगएको घर भेटिन छोड्यो । परिवारहरु बिछोडिए, आमाहरु निराशिए, बाबाहरु बोझ थेगेर बसे, आफ्नाहरु बिराना भए , श्रीमान श्रीमतीकाबीचको माया पातलो भयो । फलस्वरुप अहिले थुप्रै परिवारको बिचल्ली छ । श्रीमान नहँुदा अथवा लामो समय टाढा हुँदा आफ्नो मनको बह र शरीरको आवश्यकता पूर्ति गर्ने मान्छे खोजेर श्रीमतिहरु बिछोडिएका छन् त कति श्रीमानहरु पनि चोखा छैनन् । यो सबै बैदेशिक रोजगारले निम्त्याएको ठूलो सामाजिक विखण्डन हो । 

छोराहरु विदेशिएपछि बुहारीहरु सासु ससुरासँग बस्न छाडे, गाउँको पढाई कसैलाई मन परेन् बच्चा पढाउने निहुँमा शहरको बस्ती बढ्दै गयो । परिणाम स्वरुप गाउँहरु खाली भए, उर्वरभुमि बाँझो भयो । पहिला १२ जनासम्मको परिवार पाल्ने १ घरको पुरै जग्गा बाँझियो । कतिपय त अहिले गाउँ पुरै बाँझा बसेका छन् । गाउँका विद्यालयमा १ जना विद्यार्थीका लागि ५ जना शिक्षकले तलव खाएर बसेका छन् । तराईमा टोलैपिच्छे खोलिएका बोर्डिङ्ग स्कुलमा बच्चाको चाप उत्तिकै छ । शैक्षिक गुणस्तरको नाममा हामी जबरजस्ति पैसा उडाउँदै छौ, शहरिकरण गर्दैछौँ  । 

हाम्रो पालामा जम्मा १२ देखि १५ हजारमा कक्षा १२ सम्म पढियो होला । अहिले प्रि–स्कुलमा बार्षिक ३० हजार रुपैयाँको हाराहारीमा खर्च गर्नुपर्छ एउटा बच्चाको पढाइका लागि । त्यो पनि समान्य विद्यालयमा, अझ नाम चलेका ठूला स्कुलहरुमा त बच्चा भर्ना गर्न समेत भनसुन नै चाहिन्छ । साथमा पैसा पनि । अबको जिन्दगी फेरि पहिलेकै अवस्थामा ल्याउन अथवा सामान्य बनाउन गाह्रो हुन्छ । महङ्गी घट्ने क्रममा छैन, बरु दिनदिनै बढिरहेको छ । कृषिजन्य पदार्थको उत्पादनमा जोड नदिंदा देशलाई चाहिने कृषि उपजहरु विदेशबाट ल्याउनु परिरहेको छ । हामीलाई बाँझो रहेको हाम्रो उर्वर भूमिले सरापिरहेको छ । अनि पहिले आफ्नै बारीमा फल्ने फलफुल तरकारीहरु अहिले हामी महँगो मूल्यमा किनिरहेका छौँ । तरकारी, फलफुलदेखि खाद्यान्नका समेत अर्कै देशको मुख ताक्नु परेकाले खाद्यबस्तुको मूल्य बढेको हामी देख्दैनौ । बरु सरकारलाई गाली गरेर बस्छौँ । आफ्ना बारी बाँझो राखेको दोष हामी लिदैनौं, बरु मूल्यवृदि गराएकोमा अर्कैलाई गाली गरेर बस्छौँ ।  

यी सबै कुराको दोष अहिलेको पुस्ताले सरकारलाई मात्रै दिएको देखिन्छ । वास्तवमा भन्ने हो यो सबै कुराको दोष अहिलेको युवा पुस्ताले लिनुपर्ने हो, जो अथाहा सम्भावना हुँदा हँुदै पनि विदेशलाई नै सम्भावनाको रुपमा लिएर खाडी छिरिरहे । दुर्ई चार पैसा रेमिट्यान्सको भरमा देश छोड्दा बाँझिएका बारीमा अन्न फल्न छाड्यो, चामलको माग ह्वात्तै बढ्यो । 

पहिले गाउँमा सवारीसाधन गुड्दैनथे अहिले गुड्ने भाका छन् । विजुली बत्ति थिएन अहिले विस्तारै विजुलीका पोल गाडिदैछन्, तर मान्छे भेटिन छाडेका छन् गाउँमा । ती मान्छेविहिन ठाउँमा गाडिएका विजुलीका पोल के गर्नु, बत्ति बल्ने बेलासम्म एकादुई भएका घर पनि सकिएलान अनि त्यो विकासको के काम ? समय हुर्किदै गएपछि विकासको काम देखिदैन । 

अब पालो हामी विदेश बस्नेहरुको । अब देशमै केही गर्नुपर्ला भनेर परार साल विदेशको बसाई टुँगाएर नेपाल फर्किएको हरि केहि पार नलागेपछि २ महिना पहिले मात्र साउदी पुगेको छ । पहिला त रेस्टुरेन्टमा लगानी गर्यो, डूब्यो । किराना पसल पनि चलायो त्यो पनि डुव्यो । अहिले साउदीमा बसेर त्यहि ऋण तिर्दैछ यसको मतलव यो हैन कि देशमा केही गर्न सकिदैन । हरिले लगानी गर्नुभन्दा पहिले आफूले गर्न लागेको व्यापारको बारेमा सोधपुछ र अनुसन्धान गरेन । सबैले चलाएको देखेर अन्धाधुन्ध लगानी गर्यो त्यो हुनाले लामो समय टिक्न सकेन । फेरि हालसालै खोलेको पसलबाट महिना सकिँदै नाफाको आशा गर्नु पनि त भएन नि । 

देशमा धेरै गर्न सकिन्छ, तर आफूले जे गर्ने इच्छा राखिएको छ, त्यसको बारेमा राम्रोसँग अध्ययन गरेर ठाउँ हेरेर अनि आफूले गर्ने कामको केही अनुभव लिएर मात्र लगानी गर्नुपर्छ । आफूसँग ज्ञान नै नभएको क्षेत्रमा लगानी गरेपछि त्यसमा कसरी फाइदा लिने भन्ने कुराको ज्ञान नै हँुदैन, त्यस्तो व्यापारबाट नाफाको आशा गर्नु पनि त भएन । सबै विदेशमा बस्ने नेपालीले यहाँको सीपअनुसार व्यापार गर्न सक्दैनौ किनकि हाम्रो माटो र ठाउँ सुहाँउदो सीप हामी सबैले आर्जन गर्दैनौ । तर धेरैले यस्तो सीप पनि आर्जन गरेका छौँ आफ्नो सीप सुहाँउदो व्यापार गर्नका लागि अरुले कसरी गरेका छन् । कुन कुन व्यावसाय गर्नको लागि सरकारले करछुटको व्यवस्था गरेको छ, त्यसका लागि कहाँ सम्पर्क गर्नुपर्छ, प्रावधानहरु के के छन् । आफ्नो व्यावसायलाई कहाँ दर्ता गर्नुपर्छ, कर लगायतका नियमहरु के के छन् यस्ता कुराको विस्तृत जानकारी लिएर मात्र हात हाल्नु पर्छ । 

आफूसँग भएको रकम एकमुस्ट व्यपारमा लगाउन पनि सोच्नुपर्छ । तपाईलाई कति महिनासम्म नाफा निकाल्न गाह्रो होला, त्यस्तो अवस्थामा कसरी चलाउने ? कर्मचारीलाई तलव पनि दिनुपर्यो, आफ्नो व्यवसाय गर्ने ठाउँको भाडा पनि दिनुपर्यो । यस्तो कामका लागि कम्तीमा पनि आफ्नो लगानीको आधा रकम ब्याकअपमा राख्नुपर्छ । विजनेश सुरु गर्नाताक नजिकको बैंक तथा वित्तिय सँस्थामा सम्पर्क गरी त्यहाँबाट नियमित रुपमा आर्थिक कारोबार सुरु गर्नाले तपाईलाई चाहिएको अवस्थामा ऋण लिन सजिलो हुनसक्छ, जसले तपाईको व्यापारिक फर्मलाई साह्रोगाह्रोबाट बचाउन सकिन्छ । 

केही समय विदेशमा बसेकाहरुले आफ्नो कमाईको सानो भाग भवितव्यका लागि बचत गर्न सक्नुपर्छ । अहिलेको सानो बचतले भोलिलाई साहारा हुन सक्छ । सरकारले विदेशमा रहेका नेपालीका लागि लगानीका अवसरहरु बेला–बेलामा दिने गरेको छ । नेपाल राष्ट्रबैंकले बेला बेलामा बैदेशिक रोजगारमा रहेकाहरुलाई लक्षित गरी वैदेशिक रोजगार बचतपत्र खोल्ने गरेको छ । वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्दा अर्धबार्षिक रुपमा व्याज भुक्तानी हुन्छ भने आफूलाई चाहिएको बेला त्यो प्रमाणपत्र धितो राखेर ऋण समेत पाउन सकिन्छ । त्यसो हुनाले बचतपत्र वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि लगानीको राम्रो अबसर हो । 

भविष्यलाई हेरेर लगानी गर्ने हो भने वैदेशिक रोजगारमा रहेका नेपालीले धेरथोर कमाई भइरहेको बेला बिमामा लगानी गर्नु राम्रो मानिन्छ । बिमामा लगानी गर्दा स्वस्थ्यको सुरक्षा पनि हुने र म्याद पुगेपछि गरेको विमाको दोब्बर रकम समेत पाइने हुँदा यसलाई राम्रो लगानीको माध्यम मानिएको हो । 

यी सबै कुरालाई मध्यनजर गर्ने हो भने हामीसँग धेरै सम्पदा छ  । हाम्रो सम्पदालाई सदुपयोग गरेर आफूले जानेबुझेको ठाउँमा लगानी गर्न सके देशमा धेरै संभावना छ । हरेकले विदेश नै जानुपर्छ भन्ने छैन । यत्ति मात्र हो आफूले जानेबुझेको ठाउँमा लगानी गरौँ । देशमा भएको अवसरलाई चिनौं, विदेशमा सुनको लड्डु पाइन्न ।