काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडको नवौँ वार्षिक साधारणसभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको छ।  

कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा शनिबार नयाँ बजारस्थित सासा बैंक्वेटमा सम्पन्न भएको साधारणसभाले हकप्रद सेयर निष्कासनको मुख्य प्रस्ताव पारित गरेको हो। हकप्रदबाट जम्मा भएको पुँजी सांग्रिला ऊर्जा लिमिटेडद्वारा प्रवर्द्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत आयोजनामा ५१ प्रतिशतभन्दा बढी सेयर कायम हुने गरी लगानी गर्नेछ।

सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षण कार्यका लागि लेखापरीक्ष्क नियुक्तसमेत गरेको छ।

त्यसैगरी सभाले हकप्रद सेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, रजिष्ट्रार कार्यालय लायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नुका साथै कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गरेको छ।

कम्पनीका अध्यक्ष सुवेदीको कम्पनीको वर्तमान अवस्थाको बारेमा सेयरधनीहरुलाई प्रस्ट पारेका थिए भने सञ्चालक नारायणबाबु अधिकारीले कम्पनीको वित्तीय अवस्थाको जानकारी दिएका थिए।

कम्पनी सचिव अनिल पौडेलले सञ्चालन गरेको सभामा सेयरधनीको उल्लेखनीय उपस्थिति थियो।