काठमाण्डौ । कोका–कोला विश्वप्रसिद्ध सफ्ट ड्रिंक हो। यसले अझै पनि सफ्ट ड्रिंक बजारमा प्रभुत्व कायम राखेको छ। 

तपाइँलाई थाहा छ कोका–कोला कसरी सुरु भयो ? कसले पहिलो बनायो ? यसको पछाडि एउटा रोचक कथा छ। 

कोका–कोला एक घाइते सैनिकद्वारा आविष्कार गरिएको थियो। सन् १८६५ मा अमेरिकाको गृहयुद्धका क्रममा जोन पेम्बर्टन नामका लेफ्टिनेन्ट कर्णेल नराम्ररी घाइते भएका थिए । उनले आफ्नो पीडा कम गर्न लागूऔषध सेवन गर्न थाले। उनलाई लागूऔषधको लत लाग्यो। पछि उनले आफ्नो लागूपदार्थको लत हटाउन विकल्प खोज्न थाले। उनको खोजीले उनलाई कोका–कोलामा पुर्यायो।

पेम्बर्टन सेनामा जानुअघि फार्मेसीमा काम गर्थे। लागूऔषधको विकल्प खोज्न उनी फार्मेसीमा रिसर्च गर्थे। उनले वर्षौंसम्म मेहनत गरे तर सफलता हात लागेन। 

पेम्बर्टन केही वर्षपछि फ्रान्क रोबिन्सन नाम गरेका एक व्यक्तिलाई साथी बनाए। दुवैले मिलेर केमिकल कम्पनी खोले। त्यहाँ पनि पेम्बर्टनले आफ्नो ध्यान लागूऔषधको विकल्प पत्ता लगाउने केन्द्रित गरे। धेरै प्रयासपछि मे १८८६ मा पेम्बर्टनले एउटा ड्रग बनाए। उनले त्यसमा सोडा मिसाएर पेय पदार्थ बनाएर मानिसलाई टेस्ट गर्न लगाए। मानिसहरुले त्यो पेय धेरै मन पराए।

पेम्बर्टनले बनाएको यो पेयमा कोकाको पात र क्याफिन भएको सिरपको रेसिपी कोरा अखरोटबाट भेटिएको थियो। पेम्बर्टनको पार्टनर फ्रान्कले यस पेयको नाम कोका–कोला राखे। यसको प्रारम्भिक मूल्य प्रतिगिलास ५ सेन्ट थियो। 

कोका–कोला पहिलोपटक १८८६ मे ८ मा जैकब्स फार्मेसीमा बेचिको थियो। पहिलो वर्षमा दैनिक ९ गिलासमात्र बिक्री भएको थियो। सुरुमा कोका–कोलाले बिक्रीमा घाटा व्यहोरेको थियो। पहिलो वर्ष कोका–कोला बिक्रीबाट करिब ५० डलर उठ्यो। तर, यसको लागत ७० डलरभन्दा बढी थियो।

कोका–कालाका लागि सूत्र एउटा एटलान्टाका फार्मासिस्ट व्यवसायी आसा ग्रिग्स क्यान्डलरले १८८७ मा २ हजार ३०० डलरमा खरिद गरिएको थियो। क्यान्डलरले कोका–कोलालाई सफल बनाउन योजना बनाए। मानिसहरुलाई यसको लत लगाउन उनले यो पेय निःशुल्क वितरण गर्न थाले। त्यसपछि मानिसहरुले यसको यस्तो स्वाद पाए कि यो संसारभर प्रसिद्ध भयो।

व्यापक विज्ञापन गरिएपछि १८९० सम्म कोका–कोला अमेरिकामा सबैभन्दा लोकप्रिय पेय बन्यो। मानिसहरु यो पेय टाउको दुखाइ र थकान कम गर्नका लागि औषधिका रुप मा पिउने थाले। आज कोका–कोलाका दुई अर्बभन्दा बढी बोतल विश्वभर हरेक दिन बेचिन्छन्। –एजेन्सी