काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमीटेडद्वारा प्रवद्र्धित ग्लोबल आइएमई समुुन्नत योजना-१ ले असार मसान्तसम्मको ३ करोड ५५ लाख घाटालाई पूर्ति गर्दै साउन मसान्तसम्म ११ करोड ६८ लाख खूद नाफा कमाएको छ । 

ग्लोबल आइएमई क्यापिटलले बिहीबार सार्वजनिक गरेको पछिल्लो बित्तीय विवरणमा यस्तो देखिएको हो । 

नाफा बढेसँगै यो स्कीमको प्रति इकाई खूद सम्पत्ति मूल्य पनि बढेको छ । असार मसान्तसम्म १०.११ रुपैयाँ रहेको यस्तो मूल्य बढेर साउन मसान्तसम्म १०.६४ रुपैयाँ कायम भएको हो । 

यो अवधिसम्म स्कीमले सूचिकृत सेयरमा ७६ करोड २६ लाख, सूचिकृत नभएका सेयरमा ५ करोड ५२ लाख र मुद्धती निक्षेपमा १० करोड गरी कुल ९१ करोड ७८ लाख लगानी गरेको छ । 

एकअर्बबाट सुरु भएको यो स्किमको साउन मसान्तसम्म २२ लाख ७१ हजार ब्याज आम्दानी भएको छ । यो अवधिमा स्किमले २ करोड ८९ लाख धितोपत्र बिक्रीबाट लाभ प्राप्त गरेको छ । प्राप्त नभइसकेको आम्दानी ८ करोड बढी रहेको छ । 

यो स्किमले सबैभन्दा धेरै कित्ता सेञ्चुरी कमर्सियल बैंकको खरीद गरेको छ । यो बैंकको कुल १ लाख ५ हजार ५ सय ५१ कित्ता खरीद गरेको हो । रकमको हिसाबले सबैभन्दा धेरै लगानी नबील बैंक लिमीटेडको संस्थापक सेयरमा ४ करोड ४७ लाख रहेको छ । 

यो स्किमले बिहीबार नै आर्थिक वर्ष २०७३/७४ को संक्षिप्त वित्तीय विवरण समेत सार्वजनिक गरेको छ । यो अवधिमा यो फण्ड ३ करोड ५५ लाख नोक्सानीमा थियो । अधिकांश सूचकमा कमजोर रहेको यो स्किमले साउनदेखि आफूमा सुधार गर्न थालेको देखिएको छ ।