काठमाण्डौ । ११ हजार ४ सय करोड भारु घोटाला प्रकरणपछि पञ्जाब नेशनल बैंक(पिएनबी)मा हलचल मच्चिएको छ । बैंकले छोटो समयमै निकै ठूलो एक्सन समेत लिएको भारतीय न्यूज एजेन्सीहरुले जनाएका छन् । 

सेन्ट्रल भिजिलेन्स कमिसन(सीवीसी)को आदेशपछि पिएनबी तीन दिनको अन्तरालमा १८ हजार कर्मचारी र अधिकारीहरुको सरुवा गरेको छ । यो आदेशबाट सबैभन्दा बढी एउटै शाखामा ३ वर्षदेखि बसेका अधिकारी र ५ वर्षदेखि कार्यरत कर्मचारी प्रभावित हुने बताइएको छ । 

खासमा पिएनबीको यति ठूलो घोटाला प्रकरणको खुलासासँगै सीबीसीले सोमबार पब्लिक सेक्टरका बैंकहरुलाई एउटा एड्भाइजरी जारी गरेको थियो । यसमा बैंकमा २०१७ डिसेम्बर ३१ सम्म ३ वर्ष कार्यकाल बिताइसकेका अधिकारीलाई तत्काल सरुवा गर्न आदेश दिइएको थियो । यस्तै, यो नियम एउटै शाखामा ५ वर्षदेखि कार्यरत कर्मचारीको हकमा समेत लागू गर्न कडा निर्देशन दिएको थियो । 

यता, एकसाथ ठूलो संख्याका कर्मचारीको सरुवा गरिएपछि नेशनल अर्गनाइजेसन अफ बैंक वर्कसले यसको विरोध गरेको छ । युनियनका उपाध्यक्ष अश्विनी राणाले अहिलेको समयमा बैंकहरुका लागि कर्मचारी सरुवाको कार्य निकै कठीन हून्छ, सबै बैंकहरुले यस्तो काम अप्रीलदेखि जुलाईसम्म गर्दै आएका छन् । युनियनले यो निर्णय फिर्ता लिन सरकारसँग आग्रह गरेको छ ।