काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबारसम्म आइपुग्दा एकापसमा बजारमा प्रतिस्पर्धा गरिरहेका शिवम् सिमेन्ट र घोराही सिमेन्टको सेयरमूल्य एकदमै थोरै अर्थात् एक रुपैयाँको फरक छ ।
अर्थात् आजका दिनसम्म कम्पनीको सेयरमूल्यमा ‘प्राइस वार’ चलेको छ । यो दिन घोराही सिमेन्टको सेयरकारोबार प्रतिकित्ता ५९३ रुपैयाँ छ भने शिवम् सिमेन्टको सेयरमूल्य ५९२ रुपैयाँ छ । अर्थात् यी दुबै कम्पनी सेयरबजारमा कडा टक्करका साथ अगाडि बढेको अवस्था छ ।
यी दुबै कम्पनीले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । गत आवको मुनाफाबाट घोराही सिमेन्टले १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ भने शिवम् सिमेन्टले १४.२५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।
लगभग एउटै अनुपातमा बोनस सेयर दिने घोषणा गरेका यी दुई कम्पनीको अहिले प्राइस वार चलिरहेको छ ।केहि समयअघि मात्रै आईपीओ निष्कासन गरेर दोस्रो बजारमा कारोबारमा आएको घोराही सिमेन्टले शिवमको समग्र वित्तीय अवस्थालाई जित्न नसकेपनि मूल्य अन्तर भने घटाएको छ।घोराही सिमेन्ट आईपीओ निष्कासन गरेदेखि नै निकै चर्चामा छ।
यसले गर्दा पनि लगानीकर्ताहरुमा कम्पनीको सेयरमूल्य के होला भन्ने चासो सबैमा छ। प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको घोराही सिमेन्टको सेयरमूल्य दोस्रो बजारमा कारोबार खुलेको दिन नै नकारात्मक सर्किट लागेर घटेको थियो तर केहि समययता मूल्य बढ्ने क्रममा छ।
उता आईपीओ जारी गरेर दोस्रो बजारमा कारोबार खुल्दा शिवम सिमेन्टको सेयरमूल्य उच्च दरमा घटेको थियो। तर केहि समयपछि कम्पनीको सेयरमूल्य पुनः उकालो लागेको थियो।
घोराही सिमेन्टको चुक्तापूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँ छ। नेप्सेमा सूचीकृत ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयरमध्ये ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता सेयर संस्थापकसमूहतर्फको छ। जुन सेयर आगामी तीन वर्षयता दोस्रो बजारमा कारोबारमा आउँदैन।
बाँकी ७९ लाख ४३ हजार ८०१ कित्ता साधारण सेयर छ जसमध्ये स्थानीयमा बाँटफाँट भएको बाहेकको सेयरको मात्रै दोस्रो बजारमा कारोबार भइरहेको छ।
उता शिवम् सिमेन्टको चुक्तापूँजी भने ४ अर्ब ४० करोड रुपैयाँ छ। नेप्सेमा सूचीकृत ४ करोड ४० लाख कित्ता सेयरमध्ये ३ करोड ८७ लाख २० हजार कित्ता सेयर संस्थापक समूहको छ भने बाँकी ५२ लाख ८० हजार कित्ता सेयर सर्बसाधारणको छ।
तर कम्पनीले आईपीओ जारी गरेको तीन वर्ष पुगिसकेकोले संस्थापक सेयरको लकइन अवधि खुलिसकेको छ। यसले गर्दा दोस्रो बजारमा कम्पनीको सेयर आपूर्ति धेरै नै छ । तर प्रतिस्पर्धी घोराही सिमेन्टको सेयर आपूर्ति कम छ।
कुन कम्पनीको सेयर किन्दा बढी फाइदा ?
सेयर बजारमा दुई वटा सिमेन्ट कम्पनी भएकाले लगानीकर्तामा कुन कम्पनीको सेयर खरिद गर्दा धेरै फाइदा होला भन्नु स्वभाविक नै हो । लगानीकर्ताको दृष्टिकोणबाट हेर्दा जुन कम्पनीको सेयर किन्दा बढी प्रतिफल पाइन्छ, त्यही कम्पनी नै किन्ने हो ।
हुन त बजारमा कम्पनीको आधारभूत वित्तीय अवस्थाभन्दा पनि चलखेल र लहडका आधारमा सेयर मूल्य घटबढ हुने गरेको अवस्था छ । यस्तोमा लगानीकर्ताले तुलनात्मक रुपमा बलियो अवस्था भएको कम्पनीको सेयरमा लगानी गर्ने कि लहडको पछि लागेर जोखिम मोल्ने भन्नेमा ध्यान दिनु पर्दछ ।
यसका लागि लगानीकर्ताले कम्पनीको चुक्तापूँजी, जगेडा कोष, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, खुद नाफा, दीर्घकालिन ऋण सेयरमूल्य र लाभांश जस्ता मूख्य सूचकहरुमा ध्यान दिनुपर्दछ ।
्नेपाली पूँजीबजारमा उत्पादनमूलक कम्पनीको उपस्थिति नगन्य मात्रमा छन् । नेप्सेमा विभिन्न क्षेत्रका कम्पनीहरु सूचीकृत हुँदा उत्पादन क्षेत्रका करिब आधादर्जन कम्पनी मात्र सूचीकृत छन् ।
अझ भन्नुपर्दा नेपालमा झन्डै पाँच दर्जन बढी सिमेन्ट उद्योग रहे पनि पूँजीबजारमा हालसम्म यो क्षेत्रसँग सम्बद्ध तीन ओटा कम्पनी मात्र सूचीकृत छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19