काठमाण्डौ । यहाँस्थित त्रिभुवन विमानस्थलबाट उडेलगत्तै फ्लाई दुबई बिमानमा चरा ठोक्किएर एउटा इञ्जिनमा आगलागी भएको खुलेको छ । 

फ्लाई दुबईका प्रवक्ताले आधिकारिक ट्वीटरबाट यस्तो जानकारी सार्वजनिक गरेका हुन् । 

काठमाण्डौबाट टेकअफको क्रममा चरा ठोक्किएर एफजेड ५७६ कलसाइन भएको फ्लाई दुबईको बिमानमा आगलागी भएको बताइएको छ । 

स्ट्याण्डर्ड प्रोसीड्यूर पछि सो उडान दुवईका लागि निरन्तर गरिएको र स्थानीय समयअनुसार दुबईमा ०ः१४ बजे अवतरण गर्ने पनि सोही ट्वीटरमार्फत फ्लाई दुबईले जानकारी दिएको छ । 

यसैबीच, फ्लाइट राडार २४ का अनुसार सो बिमान भारतबाट पनि अगाडि बढिसकेको छ । हाल पाकिस्तानको आकाशमा उडिरहेको छ । 

काठमाण्डौ बिमानस्थलबाट उडेलगत्तै दायाँ इञ्जिनमा आगलागी भए पनि चालक दलले आगो निभाएको अर्को इञ्जिनले राम्रो काम गर्ने निश्कर्षसहित गन्तव्यतर्फ सो विमानलाई मोडेका थिए । 

यसअघिउडेलगत्तै एउटा इञ्जिनमा आगो लागेर सो विमान सुरक्षित अवतरणको प्रयास भइरहेको विमानस्थलस्थित उड्डयन प्राधिकरणका कर्मचारीहरुले जानकारी गराएका थिए । सो बिमानमा ४९ जना नेपालीसहित १६९ यात्रु रहेका थिए । 

बिमान आकस्मिक अवतरणको तयारी हुँदा ७ वटा जहाज सिमराको आकाशतर्फ होल्ड गरिएको थियो । तर फ्लाई दुबईका पाइलटले सुरक्षित ढंगले गन्तव्यतर्फ लैजान सकिने प्रष्ट पारेपछि बन्द गरिएको त्रिभुवन विमानस्थल १०ः१५ बजेदेखि नै खुलाइएको थियो ।