काठमाण्डौ । भारत सरकारले गैरबासमती ‘सेतो चामल’ निकासीमा प्रतिबन्ध लगाएको छ। 

भारत सरकारले बिहीबार एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। देशभित्र चामलको मूल्यवृद्धि नियन्त्रण गर्न आन्तरिक आपूर्ति बढाउन भारत सरकारले यो कदम चालेको बताइएको छ। 

डाइरेक्टर जनरल अफ फरेन ट्रेड (डीजीएफटी)ले पनि केही सर्तसहित चामल निकासी गर्न दिइने सूचनामा उल्लेख गरेको छ। यदि सूचना आउनुअघि नै जहाजमा चामल लोड सुरु भइसकेको छ भने निकासी अनुमति दिइने डीजीएफटीले जनाएको छ। योसँगै सरकारले अन्य मुलुकलाई अनुमति दिएको अवस्थामा पनि चामल निकासी गर्न दिइने डीजीएफटीको भनाइ छ। 

भारत सरकारले यी देशको खाद्य सुरक्षा आवश्यकतालाई ध्यानमा राखेर यस्तो अनुमति दिएको हो। भारतमा विगत केही वर्षयता खाद्यान्नको मूल्य निकै बढेको छ। गहुँ, चामल, दूध र तरकारीको मूल्य ह्वात्तै बढेको छ। पछिल्लो १० दिनमा भरतमा चामलको मूल्य २० प्रतिशतले बढेको छ।

मनसुन कम वर्षाका कारण भारतमा धान र दाल रोप्ने क्षेत्रफल घटेको छ। पश्चिम बंगाल, महाराष्ट्र र कर्नाटकमा कम वर्षा भएका छन्।

भारतमा पश्चिम बंगाल धानको प्रमुख उत्पादक क्षेत्र हो। जब कि महाराष्ट्र र कर्नाटकले भारतको ५० प्रतिशतभन्दा बढी दाल उत्पादन गर्दछ। भारत विश्वमा सबैभन्दा बढी चामल निर्यात गर्ने देश हो। गत सेप्टेम्बरमा भारत सरकारले कनिका निकासीमा प्रतिबन्ध लगाएको थियो। यसका साथै अन्य धेरै प्रकारका चामल निकासीमा २० प्रतिशत भन्सार लगाइएको छ।

यसअघि ब्लुमबर्गको प्रतिवेदनमा भारत सरकारले अधिकांश जातका चामलको निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको बताइएको थियो। यसले भारतको ८० प्रतिशत चामल निर्यात प्रभावित हुन सक्छ। यसले भारतमा चामलको मूल्य घटे पनि विश्वमा चामलको मूल्य बढ्न सक्ने बताइएको छ। –एजेन्सी