काठमाण्डौ । विश्व बजारमा पछिल्लो समय चामलको भाउ ह्वात्तै बढेको छ। मूल्य झन्डै १२ वर्षयताकै उच्च स्तरमा पुगेको छ। 

रोयटर्सको रिपोर्टका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले एफएओको समग्र चामल मूल्य सूचकांक जुलाईमा १ महिनाको तुलनामा २.८ प्रतिशतले बढेर औसत १२९.७को विन्दुमा पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै २० प्रतिशत बढी हो र सेप्टेम्बर २०११ पछिको धानको उच्च स्तर हो।

चामलको भाउ बढ्नुमा धेरै कारण छन्। यीमध्ये एउटा चामलको ठूलो माग हो। यसबाहेक भारतले हालै गैरबासमती चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ। जसका कारण पनि भाउ बढेको हो। 

भारतको निकासीमा प्रतिबन्धका कारण विश्व बजारमा चामलको आपूर्ति घटेको छ। यससँगै कतिपय धान उत्पादक देशहरुमा मौसमको अनियमितताका कारण कम उत्पादन हुनु पनि प्रमुख कारण हो। जसका कारण आपूर्ति थप घटेको छ।

विश्वव्यापी चामल निर्यातमा भारतको ४० प्रतिशत हिस्सा रहेको छ। घरेलु मूल्य नियन्त्रण गर्न भारतले गत महिना चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा विश्व बजारमा खाद्यान्नको मूल्यमा अस्थिरता बढ्ने सम्भावना छ।

चामलको बढ्दो मूल्यले धेरै देशमा खाद्य सुरक्षामा ठूलो असर पार्न सक्छ। चामल विश्वभरि लाखौँ मानिसका लागि मुख्य खाना हो र उच्च मूल्यले मानिसलाई यो आवश्यक खाना किन्न गाह्रो बनाउन सक्छ। 

प्रतिवेदनअनुसार भारत, थाइल्यान्ड, भियतनाम, कम्बोडिया र पाकिस्तान चामल निर्यात गर्ने प्रमुख मुलुक हुन्। जब कि चीन, फिलिपिन्स, बेनिन, सेनेगल, नाइजेरिया र मलेसिया प्रमुख आयातकर्ता हुन्। –एजेन्सी