काठमाण्डौ । सेयर बादशाह वारेन बफेटले आफ्नो कम्पनी बर्कशायर ह्याथवेले अमेरिकाका चार ठूला एयरलाइन्स कम्पनीहरुमा रहेको सबै सेयर बेचेको बताएका छन्।

भिडियो कन्फ्रेन्समार्फत गरिएको सेयरहोल्डरहरुको वार्षिक बैठकमा अर्बपति लगानीकर्ता बफेटले कोरोनाभाइरसका कारण आफू ती एयरलाइन्स कम्पनीहरुमा रहेका सेयर बेच्नुपरेको बताएका छन्। ‘यो भाइरसका कारण विश्वमा थुप्रै परिवर्तन आएको छ’, उनले बैठकमा भने, ‘एयरलाइन्स कम्पनीहरुमा लगानी गर्ने मेरो निर्णय नै गलत थियो।’

रोयटर्स समाचार एजेन्सीका अनुसार बफेटले एयरलाइन्स कम्पनीहरुबाट आफ्नो सेयर बेचेको घोषणा गर्नुअघि नै बर्कसायर ह्वाथवे कम्पनीले पहिलो त्रैमासमा ५० अर्ब डलरको घाटा भएको जानकारी गराएको थियो। बफेटसँग अमेरिकाका डेल्टा एयरलाइन्समा ११ प्रतिशत, अमेरिकन एयरलाइन्समा १० प्रतिशत, साउथवेस्ट एयरलाइन्समा १० प्रतिशत र युनाइटेड एयरलाइन्समा ९ प्रतिशत सेयर थियो। बफेटले आफ्नो कम्पनीमार्फत यी एयरलाइन्स कम्पनीहरुमा सन् २०१६ बाट लगानी गर्न सुरु गरेका थिए।

बफेटले अहिलेको संकटबाट एयरलाइन्स बिजनेस देखिएको नोक्सानीका कारण सेयर बेच्नुपरेको बताएका छन्। ‘अब हामी कुनै पनि यस्ता कम्पनीमा लगानी गर्ने छैनौँ, जहाँ भविष्यमा हाम्रो पैसा डुब्छ’, उनले भने।

कोरोना महामारीका कारण अमेरिकाका ट्राभल इन्डस्ट्रीहरु नराम्ररी प्रभावित भएका छन्। एयरलाइन्स कम्पनीहरुले हजारौँ संख्यामा उडान रद्द गरिरहेका छन्। जसका कारण हजारौँ हवाईजहाजले उडान भर्न पाएका छैनन्। 

बफेटका अनुसार यो महामारीअघि एयरलाइन्स इन्डस्ट्रीमा अझै लगानी गर्ने विचार थियो। उनले भने, ‘तर यो महामारी हाम्रो सबै योजना चकनाचुर पार्यो।’ – एजेन्सी