काठमाण्डौ । जापानको होन्डा र अमेरिकाको जनरल मोटर्स (जीएम) ले सन् २०२६ सम्ममा चालकरहित ट्याक्सी सेवा शुरू गर्ने योजना गरिरहेका छन् । 

ती कम्पनीले बिहीबार संयुक्त रुपमा जारी गरेको घोषणामा टोकियोमा चालकरहित ट्याक्सी सेवा शुरू गर्ने उल्लेख गरेका छन् । यसले वृद्धहरूको सङ्ख्या बढी भएको जापानमा श्रम अभावको समाधानमा सहयोग गर्ने लक्ष्य छ ।

होन्डाले विज्ञप्तिमार्फत सान फ्रान्सिस्कोमा रहेको सेल्फ ड्राइभिङ कार अपरेटर क्रुजद्वारा सहविकास गरिएको यो परियोजनाले जापानमा नयाँ प्रकारको गतिशीलताको अनुभव प्रदान गर्ने बताएको छ ।

होन्डाका प्रमुख कार्यकारी तोसिहिरो मिबेलेले यो एउटा उन्नत गतिशील समाज प्राप्तितर्फ एउटा मुख्य कदम हुने बताएका छन् ।

उक्त परियोजनाले ट्याक्सी र बस ड्राइभरको कमीजस्ता जापानले भोगिरहेको सामाजिक मुद्दालाई पनि सम्बोधन गर्न सहयोग गर्ने लक्ष्य पुरा गर्ने पनि उनले बताएका छन् ।

 तीव्ररूपमा वृद्धहरूको बढिरहेको जनसङ्ख्या र श्रमिकको कमीसँगै लगातार सङ्घर्ष गरिरहेको जापान सरकारले स्वायत्त सवारीलाई प्रश्रय दिँदै आएको छ ।

 सन् २०२० मा केही परिस्थितिमा पूर्ण नियन्त्रण गर्न सकिने सक्षम सवारी साधनहरूलाई सार्वजनिक सडकमा चलाउन अनुमति दिने मुलुकमा जापान पहिलो बनेको थियो ।

टोयोटा र निसानजस्ता सवारी साधन निर्माता कम्पनीले पनि स्वचालक बस तथा ट्याक्सीको परीक्षण गरिरहेका छन् ।-एजेन्सी