काठमाण्डौ । मुलुकको चालु खाता करिब साढे ६९ अर्ब रुपैयाँले घाटामा रहेको देखिएको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना (जेठसम्म)को तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा चालु खाता ६९ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ९२ अर्ब १४ करोड रुपैयाँले घाटामा रहेको थियो। 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ९३ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ५३ करोड ६१ लाखले घाटामा रहेको छ।  

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २२.५ प्रतिशतले कमी आई रु.७ अर्ब ३५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४ अर्ब ६५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.९ अर्ब ४९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१७ अर्ब ३५ करोड रहेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२ खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ७४ करोडले बचतमा रहेको छ।