काठमाण्डौ । चीनको मुद्रा युआन विश्वको तेस्रो ठूलो रिजर्भ भएको मुद्रा बन्ने अनुमान लगाइएको छ।

मोर्गन स्टान्ले एनालिस्टको अनुमानअनुसार चिनियाँ बजारमा हुने लगानीले चीनको मुद्रा युआन, अमेरिकी डलर र युरोपछिकै सबैभन्दा धेरै मौज्दात भएको मुद्रा बन्नेछ। चीन सरकारले वर्षौं अघिदेखि आफ्नो मुद्रा युआन (जसलाई आरएमबी पनि भनिन्छ) लाई अन्तर्राष्ट्रिय प्रयोगका लागि प्रवद्र्धन गर्दै आइरहेका बेला यस्तो प्रक्षेपण बाहिरिएको हो। 

रिपोर्टका अनुसार अहिले चिनियाँ मुद्रा युआनले विश्वको वैदेशिक विनिमय रिजर्भ एसेस्टको २ प्रतिशत हिस्सा ओगटेको छ। तर मोर्गन स्टान्लेले यो बढेर सन् २०३० सम्म ५ देखि १० प्रतिशतसम्म पुग्न सक्ने जनाएको छ। यस क्रममा युआनले जापानिज यन र बेलायती पाउन्डको स्तरलाई उछिन्नेछ। 

मोर्गन स्टान्लेले चिनियाँ बजारमा अबको एक दशकमा कुल ३ ट्रिलियन डलरको इन्फ्लोका लागि प्रत्यक्ष लगानीभन्दा पनि लगानी पोर्टफोलियो इन्फ्लो महत्वपूर्ण हुने जनाएको छ। ‘सन् २०२० मा निजी र रिजर्भ म्यानेजरहरुले चीनमा १५० बिलियन डलरभन्दा धेरै पोर्टफोलियो भित्रिने अपेक्षा लिइएको छ’, रिपोर्टमा भनिएको छ, ‘त्यस्तै सन् २०२१ देखि २०३० सम्म चीनमा वार्षिक इन्फ्लो २०० देखि ३०० बिलियन डलरसम्म पुग्नेछ।’

यो लगानीसँगै विश्वका सम्पत्तिहरु युआनमा होल्ड हुनेछन्। चिनियाँ सरकारले परम्परागत रुपमा आफ्नो मुद्रामाथि लगाम कस्दै आइरहेको छ र यसमा देशबाट ठूलो मात्राको पुँजी बाहिरिनबाट रोक्ने कदम पनि समावेश छ। 

सन् २०१५ मा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चिनियाँ युआनलाई प्रमुख रिजर्भको बास्केटमा राख्न महत्वपूर्ण राजनीतिक कदम चालेको थियो। जसलाई स्पेसल डर्बिङ बास्केट भनिन्छ। सन् २०१६ अक्टोबरमा युआनलाई आईएमएफको बास्केटमा समावेश गरियो। 

मार्गन स्टान्लेले सन् २०२१ को अन्तिमसम्म युआन अमेरिकी डलरको तुलनामा ६.६ युआन बलियो हुने अनुमान लगाएको छ। – एजेन्सी