काठमाण्डौ । चीनको पूर्व विदेशमन्त्री क्वीन ग्याङको रहस्यमय मृत्युलाई लिएर चौतर्फी अनेकन अड्कलबाजीहरु भइरहेका छन् । 

अन्तराष्टिय मिडियाहरुले विभिन्न स्रोतहरुको हवाला दिंदै ग्याङको मृत्यु स्वभाविक नरहेको दाबी गरिरहेका छन् । कतिपय मिडिया रिपोर्टमा उनको मृत्यु चिनियाँ सरकारको यातनाका कारण भएको समेत दाबी गरिएको छ । कतिपयले भने चीन सरकारले दिएको मानसिक यातनाबाट आजित भई डिप्रेसनको शिकार भएका उनले आत्महत्या गरेका समेत दाबी गरिरहेका छन् । 

उनलाई चीन सरकारले गत जुलाईमा विदेशमन्त्रीबाट बर्खास्त गरेको थियो । उनीमाथि जासूसीको समेत आरोप लगाइएको थियो । 

पोलिटिकोमा प्रकाशित एक रिपोर्टअनुसार उच्च चिनियाँ अधिकारीसम्म पहुँच राख्ने दुई व्यक्तिले दाबी गर्दै भनेका छन् कि जुलाई मसान्तमै बेइजिंगको एक सैन्य अस्पतालमा क्वीन ग्याङको मृत्यु भएको थियो । सो अस्पतालमा चीनका मुख्य नेताहरुको उपचार हुने गरेको छ । 

यसअघि वाल स्टिट जर्नलले संयुक्त राज्य अमेरिकाको राजदूत हुँदा ग्याङको कुनै अमेरिकी महिलासँग शारिरीक सम्बन्ध भएको आरोप लगाइएको रिपोर्ट प्रकाशित गरेको थियो । सोही क्रममा क्वीनबाट चीनको राष्टिय सुरक्षामा सम्झौता हुने काम भएको आरोप लगाइएको थियो । 

अमेरिकामा राजदूतको रुपमा रहुञ्जेलसम्म उनले ती महिलासँग सम्बन्ध राखेका थिए । परिणामस्वरुप ती महिलाबाट बच्चा समेत जन्मिएको थियो । मिडिया रिपोर्टहरुमा ती महिला र बच्चाको पहिचान भने खुलाइएको छैन । 

सन् २०२३ जून महिनाबाट ग्याङ अचानक गायब भएका थिए । उनलाई चिनियाँ राष्टपति सी जिनपिंगको विश्वासपात्र समेत मानिन्थ्यो । उनी सन् २०२१ जुलाईदेखि २०२३ जनवरीसम्म अमेरिकाका लागि चिनियाँ राजदूत रहेका थिए ।