काठमाण्डौ । ‘तपाईहरुले मर्यादाको कुरा बुुझ्नुु हुन्छ कि हुँदैन ? नियामक निकायको विशिष्ट श्रेणीको कर्मचारीलाई सम्मान गर्नुपर्छ कि पर्दैन ? मलाई डेपुटी गभर्नर भनेर किन सम्बोधन गरियो ?’ नेपाल राष्ट्रबैंकका गभर्नर चिरञ्जिवी नेपाल विदेश भ्रमणमा भएको अवस्थामा कामुु गभर्नरको जिम्मा पाएका चिन्तामणि शिवाकोटीले बिहीबार बैंकरहरुलाई थर्काए । नियामकका उच्च व्यक्तिले सातो जाने गरी थर्काएपछि बैंकरहरु पनि मलिन देखिए । अझ पेल्दै कामुु गभर्नर बनाइएका शिवाकोटीले थपे–‘म गभर्नर लेभलको मान्छे हुँ अहिले । गभर्नर नहुँदा म डेपुटी हुँ, गभर्नर नेपाल फर्किएपछि पनि म डेपुटी नै हुँ । तर, अहिले म गभर्नर हैसियतको मान्छे हो, मलाई डेपुटी किन भनियो ? ताम्रपत्रमा डेपुटी किन लेखियो ? संचालकलाई यस्तो कुरा थाहा भएन होला, सीइओले बुुझ्नुुपर्दैन यस्तो कुरा ?’ 

अहिले म गभर्नर हैसियतको मान्छे हो, मलाई डेपुटी किन भनियो ? ताम्रपत्रमा डेपुटी किन लेखियो ? संचालकलाई यस्तो कुरा थाहा भएन होला, सीइओले बुुझ्नुुपर्दैन यस्तो कुरा ?’ 

-चिन्तामणि शिवाकोटी

कामु गभर्नर शिवाकोटीले बैंकरहरुलाई थर्काइरहँदा केही आगन्तुक र पत्रकारहरु रमिते बनेर हलमा उपस्थित थिए । बिहीबार देवः विकास बैंकले युनियन फाइनान्स र साझा विकास बैंकलाई प्राप्ति गरी एकीकृत बित्तीय कारोबार थालनीका लागि आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्न ड्यासमा पुुगेका शिवाकोटीले निकैबेर बैंकका कर्मचारी र अधिकारीलाई थर्काए । 

उनले आफूलाई डेपुटी भनेकोमा मात्र चित्त दुखाएनन्, विकास बैंक हेर्ने राष्ट्रबैंकका कार्यकारी निर्देशकलाई नबोलाएको र सम्बोधनसम्म नगरेकोमा समेत आक्रोश पोखे । ‘तपाईहरुलाई विकास बैंकको नियमन गर्ने निकायका कार्यकारी निर्देशक चाहिदैन ? उहाँलाई सम्मान गर्नुपर्दैन ? सम्बोधन गर्नुपर्दैन ?’ कड्किदै उनले थपे । 

डेपुटी(कामुु) गभर्नर शिवाकोटीले थर्काएपछि एकीकृत कारोबारमा उत्साहका साथ पुुगेका बैंकका कर्मचारी मलिन देखिएका थिए । उनको निकै लामो भाषणपछि उद्घोषकको भूमिका निर्वाह गरिरहेका बैंकका बिजिनेश डेभलपमेन्ट हेड नवीनमुनि बज्राचार्यले आफूहरुबाट गल्ती भएकोमा क्षमा मागे । 

‘हामीसँग फाइनान्सियल प्रोडक्टहरु नै छैनन् । हामी धितो राखेर मात्र कर्जा दिइरहेका छौ । प्रोजेक्ट बेस्ड कर्जाको अवधारणा खोइ ल्याएको ? यो तालले देशको विकास कसरी हुन्छ?’

-डा. सुवर्णलाल बज्राचार्य

कार्यक्रमलाई बिट मार्न ड्यासमा आएका बैंक संचालक समितिका अध्यक्ष प्रोफेसर डा. सुुवर्णलाल बज्राचार्यले आफ्ना कर्मचारीहरु सधैं बैंकको काममै व्यस्त हुने भएकोले कार्यक्रम संचालनको विधि र मर्यादाको कुरामा चुकेका भन्दै बैंकको तर्फबाट क्षमा मागे । तर, उनले क्षमा माग्दै राष्ट्रबैंकको गलत नीतिलाई घुमाउरो ढंगले झापड समेत हान्न भ्याए । उनले नेपाल राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई बाँदरको बच्चाजस्तै बढी माया गरेको ब्यङ्य गर्दै भने –‘बैंक तथा बित्तीय संस्थाहरुलाई आफैं अगाडि बढ्न दिइएन, धेरै कानून तथा नियमहरुले बाँधेर बाँदरको बच्चाजस्तै बनाउने काम भयो । त्यही भएर बाँदरको बच्चाले झै बैंकहरुले खूबै दुःख पाउने गरेका छन् ।’ 

बैंकहरुसँग धेरै राम्रा अवधारणा भए पनि राष्ट्रबैंकले त्यसलाई कहिल्यै पनि सपोर्ट नै नगरेको उनको आरोप थियो । ‘हामीले यो बैंकको सुरुवात गर्दा १२ वर्षअघि नै युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने गरी आर्थिक गतिविधि गर्ने योजनाका साथ नयाँ अवधारणा राष्ट्रबैंकमा पेश गरेका थियौं ।’ उनले थपे–‘पहिला बैंकको नाम पनि सोही अनुसार राखिएको थियो, तर राष्ट्रबैंकले हाम्रो कुरा सुनेन्, देशका लागि केही गर्छौ भन्दा पनि सुनिएन र बाध्य भएर हामीले पनि अन्य बैंकले झै काम गर्नुपर्यो, अरुजस्तै बन्न बाध्य हुनुुपर्यो ।’ 

उनले राष्ट्रबैंकले मुद्रास्फितिलाई मात्र बढी जोड दिएको उल्लेख गर्दै कति उत्पादन बढ्यो वा बढाउन सकिन्छ, कति रोजगारी सिर्जना भयो वा सकिन्छ भन्ने बिषयमा ध्यानै नदिइएको दाबी समेत गरे । सम्बोधनको क्रममा उनले पटक–पटक माफी माग्दै राष्ट्रबैंक र उसले अंगिकार गरेको गलत नीतिलाई झापड हानिरहे । राष्ट्रबैंकको गलत नीतिमाथि शालीन शैलीमा झापड हानिरहँदा केहीबेरअघि बाघ झै मुद्रामा बैंकर थर्काउने डेपुटी गभर्नर शिवाकोटी भने रातोपिरो देखिएका थिए। 

अध्यक्ष बज्राचार्यले राष्ट्रबैंकको नीतिमा आमूल परिवर्तन हुनुपर्ने सुुझाव दिंदै भने–‘हामीसँग फाइनान्सियल प्रोडक्टहरु नै छैनन् । हामी धितो राखेर मात्र कर्जा दिइरहेका छौ । प्रोजेक्ट बेस्ड कर्जाको अवधारणा खोइ ल्याएको ? यो तालले देशको विकास कसरी हुन्छ ?’ उनले अहिलेसम्म देशमा भेञ्चर क्यापिटलको कानूनसम्म नरहेको भन्दै राष्ट्रबैंकमाथि ब्यंग्य कस्दै भने–‘बाटो बन्द गरेर कसरी अगाडि बढ्न सकिन्छ ? कसरी हुन्छ आर्थिक विकास ?’ 

उनले राष्ट्रबैंककै नीतिका कारण बैंकहरु कसरी बढी नाफा कमाउने र सेयरधनीलाई बढी लाभांश दिने भन्ने बिषयमा मात्र केन्द्रीत रहेका प्रष्ट्याए । 

केहीबेरअघि डेपुटी गभर्नर पड्किएर गरम बनेको एकीकृत कारोबार उद्घाटन समारोह बैंकका अध्यक्षको विद्धत र विवेकशील तर्कले सन्तुलनमा आएजस्तो देखिन्थ्यो ।