काठमाण्डौ । कोरोना महामारीले कमजोर बनेको अर्थतन्त्रका कारण चीनका पाँच ठूला बैंकहरुको नाफामा एक दशकको अवधिमा यो वर्ष सबैभन्दा बढी गिरावट आएको छ। बैंकहरुको खराब कर्जा बढेकोले उनीहरुको नाफामा गिरावट आएको हो। 

ती ठूला पाँच बैंकमा इन्डस्ट्रियल बैंक अफ चाइना, चाइना कन्स्ट्रक्सन बैंक, एग्रिकल्चर बैंक अफ चाइना, बैंक अफ चाइना र बैंक अफ कम्युनिकेशन छन्। यी बैंकले गत सातामात्रै आफ्ना वित्तीय प्रतिवेदन सार्वजनिक गरेका थिए। 

यी बैंकहरुले वार्षिक १० प्रतिशत नाफा घटेको जनाएका छन्। यसका साथै उनीहरुले सम्भावित कर्जा घाटाका लागि थप कोषको प्रबन्ध गरेका छन्। 

सम्पत्तिका हिसाबमा विश्वका सबैभन्दा ठूला चिनियाँ बैंकहरुलाई घरायसी र व्यापारव्यवसायमा परेको संकट कम गर्न त्यहाँको सरकारले फ्रन्ट लाइनमा राखेको छ। बेइजिङका अधिकारीहरुले चीनका वित्तीय संस्थाहरुलाई त्यहाँका कम्पनीहरुलाई ऋणको दर कम गर्न र कर्जा स्थगित गर्नका लागि १.५ ट्रिलियन युआन (२१९ बिलियन डलर) बलिदान दिन भनेका छन्। 

अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमा यो वर्ष १ प्रतिशतको मात्रै वृद्धि हुने अनुमान लगाइएको छ। यो वृद्धि चीनको ४० वर्षको इतिहासमा अहिलेसम्मकै कमजोर वृद्धि हो। 

कोरोनाभाइरसबाट सबैभन्दा पहिले प्रभावित बनेको चीनको अर्थतन्त्रमा आर्थिक पुनरुत्थानको संकेतहरु देखिन थालेका छन्। तर चीनको आर्थिक सुस्तताको प्रभाव त्यहाँका बैंकहरुमा पूर्ण रुपमा भने देखिएको छैन। – एजेन्सी