काठमाण्डौ । चीनको रियल स्टेट सेक्टरमा देखिएको संकटले पूरै विश्वलाई आफ्नो चपेटमा पार्न सक्ने देखिएको छ।

चीनको थुप्रै दिग्गज रियल स्टेट कम्पनीहरु आर्थिक संकटसँग जुझिरहेका छन्। आर्थिक संकटका कारण उनीहरु आफ्नो कर्जा भुक्तानीमा पनि चु्किरहेका छन्। यसको असर लन्डन, न्युयोर्क, सिड्नी र विश्वका थुप्रै सहरमा चिनियाँ कम्पनीहरुले चलाइरहेको मेगा प्रोजेक्टहरुमा देखिन सक्छ। कर्जा भुक्तानीका लागि उनीहरु आफ्नो एसेट्स बेच्ने तयारी गरिरहेका छन्।

चीनका रियल स्टेट सेक्टरमा देखिएको संकटको सुरुआत एभरग्रान्ड ग्रुपबाट भएको थियो। अहिले संकट अन्य कम्पनीहरुमा पनि देखिएको छ। 

एभरग्रन्डाको प्रतिद्वन्द्वी कम्पनी ग्रिनल्यान्ड होल्डिंग्स पनि आर्थिक संकटको चपेटमा परेको छ। यो कम्पनीले हालै सिड्नीमा सबैभन्दा ठूलो रेजिडेन्सियल टावर बनाएको थियो। यसका साथै यो कम्पनीको लन्डमा पनि सबैभन्दा ठूलो आवासीय भवन बनाउने योजना थियो। ब्रुकलिन, लस एन्जेलस, पेरिस र टोरन्टोमा पनि यो कम्पनीको अर्बौं डलरको योजना रहेको छ।

यद्यपि कम्पनीले आफ्ना प्रोजेक्टहरु बनाउन प्रतिबद्ध रहेको जनाएको छ। 

काइसा ग्रुप डिफल्ट गर्ने चीनको पहिलो कम्पनी थियो। यो कम्पनीले सन् २०१५ मा आफ्नो कर्जा भुक्तानी गर्न असफल भएको थियो। 
एभरग्रान्ड र काइसा ग्रुप आर्थिक स्रोत जुटाउनका लागि हङकङका रहेका भवनहरु बेचिरहेका छन्। 

यसैगरी ओसनवाइड होल्डिंग्सले सनफ्रान्सिस्कोमा बनाइरहेको प्रपर्टीहरु पनि जफत गरिएको छ। यो कम्पनीले सनफ्रान्सिस्कोकै सबैभन्दा ठूला टावर बनाइरहेको थियो। 

गोन्जाओस्थित आर एन्ड एफ प्रपर्टिज पनि आर्थिक संकटमा फसेको छ। यो कम्पनीलाई यही महिना आकस्मिक लगानीको आवश्यक परेको थियो। यो कम्पनीसँग लन्डनमा २ वटा प्रोजेक्ट छन्। 

यसैगरी यो कम्पनीसँग अस्ट्रेलिया, क्यानडा र अमेरिकामा थुप्रै प्रोजेक्टहरु छन्। कम्पनीले बेलायतमा सबै प्रोजेक्ट पूरा गर्न प्रतिबद्ध रहेको जनाएको छ। तर कम्पनीको आर्थिक अवस्थाले त्यो सम्भव हुने देखिँदैछ। 

कम्पनीले आउँदो १२ महिनाभित्रै करिब ८ अर्ब डलर कर्जा भुक्तानी गर्नुपर्ने देखिन्छ। तर हाल यो कम्पनीसँग केवल २ अर्ब डलरमात्र रहेको छ। 

चिनियाँ रियल स्टेट कम्पनीहरुले सन् २०१२ देखि २०१८ सम्म विदेशी प्रोजेक्टहरु प्राप्त गर्न पानीसरह पैसा खन्याएका थिए। तर सरकारले एउटा कदमले संकट उत्पन्न भयो। 

चिनियाँ सरकारले रियल स्टेट कम्पनीहरुले लिएका कर्जा कम गर्ने प्रक्रिया अगाडि बढाएको छ। जसका कारण सन् २०१८ मा चिनियाँ रियल स्टेट कम्पनीहरुले लन्डन प्रोजेक्टहरुमा गरेको ३८.२ अर्ब डलरको लगानी यो वर्ष २.०५ अर्ब डलरमा झरेको छ। रियल स्टेट क्षेत्रमा यो धनराशि सन् २०१२ यताकै कम हो।

चिनियाँ रियल स्टेट क्षेत्रमा संकट जारी रहने हो भने कम्पनीहरुले आफ्नो प्रोजेक्ट बेच्नुपर्ने दबाब सिर्जना हुन सक्ने विश्लेषकहरु बताउँछन्। कम्पनीले आफ्ना प्रोजेक्टहरु बेच्न चाहेमा समस्या नहुने उनीहरुको भनाइ छ। तर यदि एकैपटक सबै कम्पनीहरुले प्रोजेक्टहरु बेचेमा भने ठूलो संकट उत्पन्न हुन सक्ने उनीहरुको चेतावनी छ। – एजेन्सी