काठमाण्डौ । चीनको अर्थतन्त्रले धेरै चुनौतीहरूको सामना गरिरहेको छ।

गत वर्ष विश्वभरका शेयर बजारमा उकालो लागेको थियो तर चीनको प्रदर्शन सबैभन्दा खराब थियो । नयाँ वर्षको सुरुवात पनि उसका लागि सुखद रहेन । 

सन् २०२१ देखि चीनको शेयर बजारले चार ट्रिलियन डलरभन्दा बढीको झट्का भोगेको छ। स्थिति यस्तो बनेको छ कि महत्वपूर्ण उदीयमान बजार इक्विटी बेन्चमार्कमा चीनको हिस्सा रेकर्ड न्यून पुगेको छ। 

चीनमा मन्दीको कालो बादल लागिरहँदा उसकै छिमेकी मुलुक जापानको शेयर बजारमा भने उछाल आएको छ । बिहीबार टोकियोको निक्केई इन्डेक्स ३५ हजार अंकभन्दा माथि पुगेको छ । 

सन् १९९० पछि यो पहिलो पटक यो स्तरमा पुगेको हो । यसले देशमा वर्षौंदेखि चलिरहेको मन्दी अन्त्य हुने आशा बढाएको छ ।

निक्केई २२५ इन्डेक्स बिहीबार ६०८.१४ अंक वा १.७७ प्रतिशतले बढेर ३५,०४९.८६ अंकमा बन्द भयो । सन् १९९० को फेब्रुअरीपछि यो पहिलो पटक हो कि सूचकांक यो स्तरमा पुगेको छ। 

विज्ञहरूका अनुसार जापानको शेयर बजारमा यो वृद्धि हुनुको सबैभन्दा ठूलो कारण धेरै वर्षसम्म मुद्रास्फीतिमा रहेपछि जापानको अर्थतन्त्रमा सामान्यता आउन सक्ने हो । 

बैंक अफ जापानले अप्रिलमा मौद्रिक नीतिमा आफ्नो लामो समयदेखिको अडान परिवर्तन गर्नसक्ने आकलनले पनि सेयर बजारमा उछाल आएको हो। 

बिहीबार सोनी समूह ३.५४ प्रतिशत, टोयोटा ३.६१ प्रतिशत र सफ्टबैंकको सेयरमूल्य १.९२ प्रतिशतले बढेको छ ।

बुधबार अमेरिकी टेक स्टकमा भएको वृद्धिले जापानी सेयर बजारलाई पनि समर्थन गरेको छ ।

यसैबीच, चीनको अर्थतन्त्र सुस्त हुँदै गएको छ र यसको अवस्था देखेर मानिसहरूले जापानलाई सम्झिरहेका छन्। 

एक समय, जापानको अर्थतन्त्र रकेटको गतिमा बढिरहेको थियो र यसले अमेरिकालाई पछाडि छोड्ने विश्वास थियो। तर १९९० को दशकमा जापानको अर्थतन्त्र ठप्प भयो। तर, त्यतिबेलासम्म जापान उच्च आय भएका देशको श्रेणीमा पुगिसकेको थियो र अमेरिकाको स्तरको नजिक पुगेको थियो । 

आज चीनको अवस्था पनि लगभग उस्तै छ। भिन्नता के हो भने चीन मध्यम आयको बिन्दुभन्दा थोरै मात्र माथि पुगेको छ। विज्ञहरू भन्छन् कि चीनको समस्या जापानको भन्दा बढी चुनौतीपूर्ण छ।

-एजेन्सीको सहयोग