काठमाण्डौ । जापानिज कार निर्माता कम्पनी टोयोटाको चीनमा अवस्थित निर्माण प्लान्ट बन्द भएको धेरै दिन भइसक्यो । कम्पनीले यहाँको प्लान्टलाई अझै केही हप्ता बन्द गर्ने घोषणा गरेको छ ।
चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि टोयोटाले त्यहाँको उत्पादन युनिट बन्द गरेको हो । यो क्रम अझै केही सातासम्म रहनसक्ने सिएनएनले जनाएको छ ।
कोरोना भाइरसका कारण हालसम्म ६३० चिनियाँ नागरिकको मृत्यु भइसकेको छ भने विश्वभर ३१ हजार ४०० व्यक्ति संक्रमित भइसकेका छन् । विश्वका २५ देशमा यो भाइरसको प्रकोप फैलिएको दाबी गरिएको छ ।
विश्वकै दोश्रो ठूलो कार निर्माता कम्पनी टोयोटाले चीनमा रहेका आफ्ना उत्पादन प्लान्टलाई जनवरीको अन्तिमदेखि नै बन्द गरेको थियो । टोयोटाका प्रवक्तालाई उद्धृत गर्दै मिडिया रिपोर्टमा बताइएअनुसार छिटोमा पनि अब यहाँको उत्पादन प्लान्ट १७ फेब्रुअरी पछि मात्र खुल्नसक्छ । कोरोना भाइरसको प्रकोप बढिरहेको खण्डमा बन्द प्लान्टहरु खुल्ने समय अझै पछि धकेलिन सक्छ ।
कोरोना भाइरसका कारण टोयोटाका चीनमा रहेका १२ वटा प्लान्टहरु पूर्ण प्रभावित भएका छन् । चारवटा कार उत्पादन प्लान्ट र बाँकी ८ वटा भने पार्टपूर्जा उत्पादन गर्ने उद्योगहरु अहिले बन्द अवस्थामा छन्।
विश्वका कार निर्माता कम्पनीहरुका लागि चीनको बजार निकै ठूलो मानिन्छ । विश्वमा उत्पादन हुने कारहरुमध्ये करिब १५ प्रतिशत चिनियाँ बजारमै खपत हुने गरेको एक रिपोर्टमा उल्लेख छ ।
टोयोटा मात्र होइन, चीनमा रहेका विश्वका कतिपय चर्चित कार निर्माताहरुले समेत आफ्नो उत्पादन युनिटहरुलाई बन्द गरेका छन् र उनीहरु कोरोना भाइरसको प्रभाव कम होस् भनेर प्रतिक्षारत छन् । महामारीकै कारण अहिले चीनमा रहेका विश्वका गाडी उत्पादक कम्पनीका सयौं प्लान्टहरु बन्द अवस्थामा छन् । यसले उनीहरुको आम्दानीमा समेत निकै ठूलो प्रभाव पारिरहेको रिपोर्टमा बताइएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago