नयाँदिल्ली । आफ्ना छिमेकी मुलुक नेपाल र बंगलादेशसँगको व्यापार बढाउन तथा सुुगमताका लागि भारत फराकिलो हाइवे करिडरलाई अन्तर्राष्ट्रिय व्यापार केन्द्रहरुसँग जोड्ने योजनामा छ । केन्द्रीय परिवहनमन्त्री नितिन गड्करीलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाए अनुसार छिमेकीहरुसँगको व्यापार राम्रो बनाउन यो प्रोजेक्टमा भारत सरकारले २५ हजार करोड भारु खर्च गर्नेछ । यो प्रोजेक्टअन्तर्गत २ हजार किलोमिटर लामो हाइवे बनाइनेछ र यो हाइवे नेपाल र बंगलादेशको सीमासम्म पुुग्नेछ ।
भारतमालाको हिस्सा
केन्द्रीय परिवहन तथा राजमार्गमन्त्री नितिन गड्करीले भनेका छन्–‘अन्तर्राष्ट्रिय व्यापार केन्द्रहरुसँग हाइवेलाई जोड्नका लागि २ हजार किलोमिटर फराकिलो हाइवे बनाइनेछ ।’ उनकाअनुसार यसको माध्यमबाट नेपाल, भूटान, बंगलादेश र म्यानमारसँगको व्यापार सहज बनाइनेछ । उनले भनेका छन् कि यो योजना ‘भारतमाला’को एक हिस्सा हुनेछ अर्थात यही अन्तर्गत निर्माण हुनेछ ।
केन्द्रीय क्याबिनेटले गत २५ अक्टोबरमा सन् २०२२ को मार्चसम्ममा ८३ हजार ६ सय ७७ लामो हाइवे बनाउने मेगा प्रोजेक्टलाई स्वीकृत गरिसकेको छ । यो मेगा प्रोजेक्टमा कुल ७ लाख करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसअन्तर्गत सरकारको निकै महत्वकांक्षी ‘भारतमाला परियोजना’ समेत समेटिनेछ, जसमा मात्रै ५.२५ लाख करोड भारु खर्च गरिनेछ ।
कहाँबाट आउँछ पैसा ?
प्रोजेक्टको फण्डिङको बिषयमा प्रश्न गर्दा गड्करीले भारतमालाको कुल लागत ५.३५ लाख करोडमध्ये २.३७ लाख करोड केन्द्रीय रोड फण्डबाट, २.०५ लाख करोड बजारबाट उधारो लिएर, ३४ हजार करोड रुपैयाँ हाइवे प्रोजेक्ट्सको मुद्रीकरणबाट र ६० हजार करोड बजेटबाट आउने बताएका मिडिया रिपोर्टमा उल्लेख छ ।
गड्करीलाई उद्धृत गर्दै रिपोर्टमा बताइए अनुसार हाइवे करिडरलाई अन्तर्राष्ट्रिय व्यापार केन्द्र(पोइन्ट)सँग जोड्नुुबाहेक कैयन अन्य परियोजना समेत यो क्रममा पूरा हुनेछन् । जसको मुख्य उद्देश्य भारतको दक्षिण एशिया तथा आशियान देशहरुसँगको अन्तराष्ट्रिय कनेक्टिभिटी उत्कृष्ट बनाउनुु हुनेछ । उनले भनेका छन् कि नेपालको तराई इलाकामा सडकलाई मजबुत गर्ने सम्झौता सन् २०१६ मै भइसकेको छ, यो योजना समेत यही ठूलो परियोजनाको एक सानो हिस्सा हो ।
चीनले वन बेल्ट वन रोड परियोजनाबाट कनेक्टिीभिटीमा कोशेढुंगा साबित हुने गरी तीव्र गतिमा काम अगाडि बढाइरहेको बेला भारतले त्यसलाई टक्कर दिन यो परियोजना कार्यान्वयनमा ल्याउन लागेको विज्ञहरुले बताएका छन् । चीन सँगसँगै छिमेकी देश तथा दक्षिण एशियामा आफ्नो प्रभाव जमाउन समेत भारतले हाइवे परियोजनालाई हतारमा अगाडि बढाउने निर्णय गरेको कतिपयको तर्क छ । उनीहरुले चीनको वन बेल्ट, वन रोड परियोजनालाई टक्कर दिन भारतमाला परियोजना आएको समेत दाबी गरेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago